काठमाडौं । दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले १६ व्यक्ति र २ कम्पनीविरुद्द मुद्दा दायर गरेको हो ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
दूरसञ्चार प्राधिकारणको टेरामक्स प्रविधि खरिदका क्रममा ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरषोत्तम खनालसहितका प्राधिकरणका निर्देशक विजयकुमार रायलाई पनि मुद्दा दायर गरिएको छ ।
उपनिर्देशक रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । यस्तै निर्देशक सुरेन्द्रलाल हाडा, दीपेश आचार्यसहित दुई परामर्शदाताविरुद्ध पनि मुद्दा दायर भएको छ । सबै प्रतिवादीसँग ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
दूरसञ्चार प्राधिकरणका लागि आर्थिक वर्ष २०७४/७५ मा टेरामक्स खरिदका लागि तत्कालीन सञ्चारमन्त्री बस्नेतले क्षेत्राधिकार बाहिर गई निर्णय गरेको अभियोग पत्रमा उल्लेख छ । बस्नेतकै निर्देशनमा प्राधिकारणका पदाधिकारीले टेरामक्स खरिद प्रक्रिया अगाडि बढाएका थिए ।
उक्त प्रविधिले अन्तर्राष्ट्रिय कल निगरानी गर्ने, कल बाइपास नियन्त्रण गर्ने भन्दै बजेट तथा कार्यक्रममा समावेश नै नभएको बजेटलाई दुरुपयोग गरेको अख्तियारको अन्सन्धानबाट खुलेको छ ।
यसअघि नै बयान लिए पनि तत्कालीनका अर्का सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भने मुद्दा चलाइएको छैन ।