काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरूजुप्रति सरकार गम्भिर बन्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राज्यका निकायहरूले आर्थिक अनुशासन पालना नगर्दा वर्षेनी बेरूजु बढ्दै गइरहेको उहाँको भनाइ छ ।
सांसद गैरेले महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा हालसम्मको बेरूजु कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रूपैयाँ पुगेको उल्लेख गर्दै यही अवस्थामा बेरूजु बढ्दै गए हामी कहाँ पुग्छौं भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘महालेखाको प्रतिवेदनले बेरूजु बढेको देखाएको छ । बेरुजु यही हिसावले बढ्दै जाने हो भने हामी कहाँ पुग्छौं ? आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रूपैयाँ यो देशको बेरूजु भएको छ ।’
उहाँले संघीय मन्त्रालयतर्फ ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकारअन्तर्गत ४ अर्ब २ करोड, स्थानीय तहमा २५ अर्ब २५ करोड ४२ लाख, तथा समिति र अन्य संघसंस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रूपैयाँ बेरूजु रहेको रहेको उल्लेख गर्नुभयो ।