
काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले संसद् विघटन गर्नुभएको छ ।
उहाँले मुलुकको स्थीरताकालागि नयाँ निर्वाचन आवश्यक भएको दाबी गर्नु भएको छ । उहाँले संसद् विघटन गर्दा गठबन्धन साझेदारहरूको अनुरोधको सम्मान गर्दै यो कदम चालिएको पनि बताउनुभयो । ‘सत्ता जनतासँग फर्काउने’ उद्देश्य रहेको पनि उहाँले व्यक्त गर्नुभएको छ ।
क्याम्बोडियासँग जारी सीमा विवादको बीचमा जनताको सुरक्षालाई ध्यानमा राख्दै संसद् विघटन गरिएको सरकारी दाबी छ । सरकारी राजपत्रमा प्रकाशित सूचनामा सरकारले विभिन्न चुनौतीहरूको सामना गरिरहेको र स्थिर तथा प्रभावकारी रूपमा प्रशासन सञ्चालन गर्न कठिनाइ भइरहेको हुँदा नयाँ निर्वाचन गर्नु उपयुक्त उपाय ठहरिएको उल्लेख छ ।
थाइल्यान्डको कानुनअनुसार, संसद् विघटन भएपछिका ४५-६० दिनभित्र मतदान हुनुपर्छ, त्यसैले मतदान जनवरी अन्त्य वा फेब्रुअरी सुरूमा हुने अपेक्षा गरिएको छ । क्याम्बोडियासँगको सीमा विवादमा कम्तिमा २० जनाको ज्यान लिएको र करिब ६ लाख नागरिक विस्थापित भएको छ, जसमध्ये अधिकांश थाइल्यान्डमा छन् ।
तीन महिनाको कार्यकालमा प्रधानमन्त्री अनुटिनले सीमा सुरक्षा र म्यानमाबाट आएका शरणार्थीहरूको व्यवस्थापन जस्ता चुनौतीहरू व्यवस्थित रूपमा व्यवस्थापन गर्नुभएको छ ।