
काठमाडौं । युरोपेली युनियन ईयूका सरकारहरूले युक्रेनमाथि रूसको पूर्ण आक्रमण सुरु भएदेखि ईयूभित्र फ्रिज गरिएको करिब २ सय १० अर्ब बराबरको रूसी सम्पत्तिलाई अझै अनिश्चितकालका लागि रोक्का गर्ने सम्झौता गरेका छन्।
रूसको अधिकांश रकम बेल्जियमको युरो क्लियर बैंकमा राखिएको छ । युरोपेली नेताहरू आगामी हप्ता हुने महत्वपूर्ण ईयू शिखर सम्मेलनमा युक्रेनलाई सैन्य तथा आर्थिक सहयोगका लागि ऋण जुटाउन सो रकम प्रयोग गर्ने सम्झौतामा पुग्ने आशा गरिरहेका छन्।
झण्डै चार वर्षदेखि जारी रूस–युक्रेन युद्धपछि युक्रेनको कोष समाप्त हुँदैछ । युक्रेनलाई आगामी दुई वर्षका लागि करिब १ सय ३६ अर्ब युरो आवश्यक पर्ने अनुमान छ ।
युरोपेली युनियनका सरकारहरूले सो रकमको दुई–तिहाइ सहयोग दिने लक्ष्य राखेको छन् । तर रूसी अधिकारीहरूले भने ईयूलाई चोरी गरेको आरोप लगाएका छन् । रूसको केन्द्रीय बैंकले बेल्जियमको बैंक युरोक्लियर विरुद्ध मस्कोको अदालतमा मुद्दा दायर गरेको छ। यो कदम ईयूले युक्रेनका लागि रूसी सम्पत्ति प्रयोग गरेर ऋण जुटाउने योजनापछि आएको हो। फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमणपछि ईयूले रूसका सम्पत्ति फ्रिज गरेको थियो। तीमध्ये १ सय ८५ अर्ब युरो बराबरको रकम अहिले युरोक्लियर बैंकमा रोक्का छ।