६ दशकदेखि सिंगापुरको सत्तामा पीएपीको एकाधिकार, आम निर्वाचनमा लगातार १४ औं पटक विजयी

युवा वर्गमा बढ्दो निराशा सम्बोधन प्रधानमन्त्री वोङका मुख्य चुनौती
वैशाख २१, २०८२ |हरहरि उपाध्याय
६ दशकदेखि सिंगापुरको सत्तामा पीएपीको एकाधिकार, आम निर्वाचनमा लगातार १४ औं पटक विजयी

काठमाडौं । सिंगापुरमा भएको आम निर्वाचनमा सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) लगातार १४ औं पटक विजयी भएको छ । एक सदनात्मक संसद्को कुल ९७ सिटमध्ये ८७ सिटमा विजय हात पार्दै पीएपीले सत्तामाथिको आफ्नो ६ दशक लामो एकाधिकारलाई थप लम्ब्याएको हो । चुनावको परिणामलाई अमेरिकामा शिक्षित ५२ वर्षीय अर्थशास्त्री लरेन्स वोङको अभूतपूर्व जनअनुमोदनका रूपमा हेरिएको छ । 

तर बदलिँदो विश्व परिवेशमा युवावर्गमा बढ्दै गएको निराशालाई सम्बोधन गर्नु वोङका लागि कठिन हुन सक्ने विश्लेषण गरिएको छ । 

सन् १९६५ मा मलेशियाबाट छुटि्टएर स्वतन्त्र राष्ट्र बन्नु अघिदेखि अर्थात् सन् १९५९ देखि नै पीएपीले सिंगापुरमा शासन गर्दै आएको छ । अमेरिकामा शिक्षित ५२ वर्षीय अर्थशास्त्री लरेन्स वोङ गत वर्ष मात्रै सुशासनको निरन्तरताका साथै 'नयाँ रगत र नयाँ शैली'को नेतृत्वको वाचाका साथ देशको चौथौ प्रधानमन्त्री बन्नुभएको थियो ।

आधुनिक सिंगापुरका संस्थापक नेता लि क्वान युका छोरा लि सेन लुङको दुई दशक लामो प्रधानमन्त्रीत्वको समापनसँगै वोङले सत्ता आफ्नो हातमा लिनुभएको थियो । गत वर्ष पार्टी महासचिव नियुक्त भएयता वोङको नेतृत्वमा भएको यो पहिलो निर्वाचन हो भने यस निर्वाचनमा पीएपीले ६५.६ प्रतिशत मत प्राप्त गरेको छ । यसअघि २०२० मा भएको निर्वाचनमा पीएपीले ६१ प्रतिशत मत प्राप्त गरेको थियो ।

मुख्य विपक्षी दल वर्कर्स पार्टी डब्ल्यू पीले आफ्नो सिट संख्या थप्न नसके पनि संसदका १० सिटमा भने आफ्नो निरन्तर पकड कायम राख्न सफल भएको छ । सत्तारुढ दल पीएपीले सबै सिटका लागि आफ्नो उम्मेदवारी दिए पनि डब्ल्यू पीले भने जम्मा २६ सिटमा आफ्नो उम्मेदवारी दिएको थियो ।

पीएपीको लोकप्रियताको एउटा मूल कारण यसका संस्थापक नेता तथा देशका प्रथम प्रधानमन्त्री तथा आधुनिक सिंगापुरका संस्थापक लि क्वान युको विरासतलाई मानिन्छ । सन् १९५९ देखि १९९० सम्म प्रधानमन्त्रीको रूपमा शासन गरेका लि क्वानले सिंगापुरलाई आधुनिकीकरण गर्दै एशियाली वित्तीय केन्द्रका रूपमा विकसित गर्नुभएको थियो । निर्वाचनहरू धाँधली वा अनियमिततारहित भए पनि चुनावअघिको रणनीति र नियन्त्रित सञ्चारमाध्यमका कारण पार्टीले अनुचित लाभ उठाउने गरेको केही आलोचकले टिप्पणी गर्ने गरेका छन् । पार्टीका सदस्यको ठूलो संख्याका साथै राज्यका संस्थाहरूमा राम्रो प्रभाव र प्रतिपक्षी दलहरूभन्दा उच्च साधनस्रोत सम्पन्न रहनु पनि पार्टीको जितको अर्को कारण भएको विश्लेषण गरिएको छ ।

घूस लिएको अभियोगमा पूर्वयातायातमन्त्री एस इश्वरन गत वर्ष जेल जानु र २०२३ मा सभामुख र एक जना सांसदले अनुचित प्रेम सम्बन्धका कारण राजीनामा दिनु लगायतका केही विवादले पार्टीको छविमा धक्का नलागेको भने होइन ।

त्यसो त विपक्षीहरू विभाजित रहनु पीएपीको निरन्तर सफलताको कारक मानिन्छ । यस पटक पनि पीएपीविरुद्ध १० वटा दलहरू आआफनै उम्मेदवारका साथ मैदानमा थिए ।

यस पटकको विजयको मूल कारण भने अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले लिएको आयात कर नीतिका कारण वैश्विक व्यापारमा आउने हलचलको डरका बीच कुनै नयाँ पार्टीलाई सत्ताको साँचो सुम्पिनुको साटो मतदाताले पुरानै र चिरपरिचित सत्तारुढ दललाई नै विश्वासको भारी मत दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूको विश्लेषण छ ।

सिंगापुरको अर्थतन्त्र मुलतः व्यापारमा आधारित छ भने राष्ट्रपति ट्रम्पले सिंगापुरबाट आयात हुने वस्तुमाथि १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको छ । हाल ९० दिनका लागि स्थगित यो व्यवस्था कार्यान्वयनमा आएको अवस्थामा सिंगापुरको अर्थतन्त्रमा यसले नकारात्मक असर पार्ने र सिंगापुर प्राविधिक रूपमा मन्दीमा जान सक्ने बताइएको छ ।

प्रधानमन्त्री वोङले ट्रम्पको आयात कर यथावत रहे देश निकै अप्ठेरोमा पर्ने र त्यसको प्रभावलाई सामना गर्न सिंगापुर खुला र प्रतिस्पर्धी हुनुपर्ने चेतावनी दिनुभएको थियो ।

कठोर सरकारी नियन्त्रण र विश्वका अति महँगो शहरमध्येको एक सिंगापुरमा जीवनयापनको खर्च बढदै जाँदा खासगरी युवावर्गमा बढ्दै गएको निराशालाई सम्बोधन गर्नु प्रधानमन्त्री वोङका लागि चुनौतीपूर्ण रहेको बताइएको छ ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।