काठमाडौं । इरान र अमेरिकाबीच शनिबारका लागि तय भएको चौथो चरणको आणविक वार्ता स्थगित भएको छ । प्राविधिक कारण देखाउँदै तेहरान, वासिङ्टन र मध्यस्थकर्ता ओमानले रोममा हुने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जनाएका हुन् । सबै पक्ष सहमत भएपछि नयाँ मिति घोषणा गरिने मध्यस्थकर्ता ओमानले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले भने वार्ता स्थगित भएको आधिकारिक रूपमा पुष्टि नभएको जनाएको छ । यो स्थगन केही दिनअघि मात्र राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको तेल व्यापारसँग सम्बन्धित भनिएका कम्पनीहरूमाथि नयाँ प्रतिबन्धहरू लगाएसँगै आएको हो । ट्रम्पले इरानी तेल वा पेट्रोकेमिकल खरिद गर्ने जो–कोहीलाई तत्काल दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने चेतावनी दिनुभएको थियो ।
ट्रम्पले सन् २०१८ मा अमेरिकालाई २०१५ को आणविक सम्झौताबाट हटाउनु भएको थियो । उहाँले 'झन राम्रो' सम्झौता गर्ने प्रतिबद्धता जनाउँदै वार्ता असफल भए सैन्य कारबाहीको विकल्प खुला रहेको चेतावनी पनि दिनुभएको थियो ।
यस अवरोधका बाबजुद, दुबै पक्षले ओमानको राजधानी मस्कटमा सम्पन्न पहिलो चरणको वार्तालाई 'सकारात्मक' भनेका थिए । इरानका विदेशमन्त्रीले तेहरान कूटनीतिक समाधानप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ भने ओमानले सबै पक्ष सहमत भएपछि नयाँ मितिको घोषणा गरिने जनाएको छ ।