सिंगापुरमा आज आमनिर्वाचन

वैशाख २०, २०८२ |खेल ब्युरो
सिंगापुरमा आज आमनिर्वाचन

काठमाडौं । सिंगापुरमा आज आमनिर्वाचन भइरहेको छ । १४औँ आम निर्वाचनमा ११ राजनीतिक दलसहित दुई स्वतन्त्र उम्मेदवारले ९२ सिटका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

सत्तारूढ पिपुल्स एक्सन पार्टीले मरिन परेड–ब्राडेल हाइट्स समूह प्रतिनिधित्व निर्वाचन क्षेत्रमा कुनै प्रतिस्पर्धी नभएको कारण वाकओभर पाइसकेकाले पहिले नै पाँच सिट जितिसकेको छ ।

यो निर्वाचन सत्तारूढ पिपुल्स एक्सन पार्टीको लोकप्रियताको मापन गर्ने संकेतका रूपमा हेरिएको छ । प्रधानमन्त्री लोरेन्स वोङ नेतृत्वको उक्त पार्टीले १९६५ मा स्वतन्त्रतापछि भएका सबै निर्वाचनमा जित हासिल गरेको छ र यसपटक पनि सबैभन्दा बढी सिट जित्ने अपेक्षा गरिएको छ ।

५२ वर्षीय वोङ गत वर्ष सिंगापुरका चौथो प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले नयाँ नेतृत्वको समावेशीकरण र सिंगापुरलाई आफ्नै शैलीमा नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नभएको थियो । तर, धेरै मतदाता सरकारको समसामयिक विषयमा कमजोर व्यवस्थापनप्रति असन्तुष्ट देखिएका छन् । 

सन् २०२० को निर्वाचनमा पिपुल्स एक्सन पार्टीले ६० प्रतिशत मत प्राप्त गरेको थियो ।