ट्रम्प प्रशासनले सामाजिक सुरक्षा प्रणालीलाई ध्वस्त बनाएको बाइडनको आरोप

वैशाख ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्प प्रशासनले सामाजिक सुरक्षा प्रणालीलाई ध्वस्त बनाएको बाइडनको आरोप

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडनले राष्ट्रपति डनल्ड ट्रम्प प्रशासनमाथि सामाजिक सुरक्षा प्रणालीलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको छ । जनवरी २० मा ह्वाइट हाउस छाडेयताको आफनो पहिलो सार्वजनिक सम्बोधनमा बाइडनले नयाँ प्रशासनले सत्ता सम्हालेको १ सयभन्दा पनि कम दिनमा सामाजिक सुरक्षा प्रणालीमा व्यापक क्षति र विध्वंस मच्चाएको आरोप लगाउनुभयो । 

शिकागोमा आयोजित अपांग अधिकारसम्बन्धी सम्मेलनमा बाइडनले सामाजिक सुरक्षा एउटा पवित्र वाचा भएको र मानिसको जीवनमा यसको ठूलो महत्त्व भएको बताउनुभयो । आफ्नो सम्बोधनका क्रममा बाइडनले सोझै ट्रम्पको नाम भने लिनुभएको थिएन ।

इलोन मस्कको नेतृत्वमा गठित खर्च कटौती सम्बन्धी सरकारी दक्षता विभाग (डोज)ले संघीय सामाजिक सुरक्षा एजेन्सी (एसएसए)मा ठगी व्याप्त रहेको आरोप लगाउने गरेको छ । डोजले फेब्रुअरीदेखि एसएसएमा कर्मचारी कटौती गर्न सुरु गरेको र ७ हजार कटौती गर्ने लक्ष्यका साथ काम गरिरहेको बताइएको छ । मस्कले सामाजिक सुरक्षालाई अहिलेसम्मकै ठूलो ठगी योजनाका रूपमा व्याख्या गर्ने गर्नुभएको छ ।

सामाजिक सुरक्षा एजेन्सीले अमेरिकाका अवकाशप्राप्त वा अपांगताका कारण काम गर्न नसक्ने व्यक्तिहरूलाई आधारभूत तलब वा भत्ता दिने गरेको छ । यसबाट करीब ६ करोड ७० लाख अमेरिकीहरू लाभान्वित हुने गरेको र यसमा अधिकांश वृद्धवृद्धा हुने गरेको जनाइएको छ । ट्रम्पले भने आफूले धोखाधडीपूर्ण दाबी र भुक्तानीलाई रोक्न चाहेको तर पूर्णरूपमै यो व्यवस्था समाप्त भने नगर्ने बताउँदै आउनुभएको छ ।

मंगलबार मात्रै ट्रम्पले अवैध आप्रवासी र अन्य अयोग्य व्यक्तिलाई सामाजिक सुरक्षा लाभ पाउनबाट रोक्ने सम्बन्धी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

बाइडनको सम्बोधनभन्दा पहिले नै ट्रम्पकी प्रेस सचिव क्यारोलिन लेभिटले कानुन पालन गर्ने र विधिवत कर तिर्ने अमेरिकी जेष्ठ नागरिकले पाउने सुविधाको संरक्षणका लागि राष्ट्रपति ट्रम्प प्रतिबद्ध रहेको बताउनुभएको थियो । सामाजिक सुरक्षा एजेन्सी स्वयंले भने सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बाइडनले शिकागोमा दिएको अभिव्यक्ति झुठो भएको टिप्पणी गरेको छ । हाल यो एजेन्सी ट्रम्पद्वारा नियुक्त अधिकारीको नेतृत्वमा संचालित रहेको छ ।