पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको ट्रम्पका विशेषदूतकाे भनाइ

वैशाख ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको ट्रम्पका विशेषदूतकाे भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका विशेषदूतले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको बताउनुभयो । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि राष्ट्रपति ट्रम्पका विशेषदूत स्टिभ विट्कफले नयाँ खुलासा गर्नुभएको हो ।

विट्कफले शान्ति सम्झौता ‘उदय हुँदै’ गरेको आफूले देखेको र पुटिनका दुई प्रमुख सल्लाहकार युरी उसाकोभ र किरिल दिमित्रिभ ‘प्रभावशाली बैठक’ मा रहेको बताउनुभयो । 

पुटिनको अनुरोध युक्रेनमा स्थायी शान्ति होस् भन्ने रहेको आफुले पाएको र त्यसका लागि प्रयासहरू भइरहेको विट्कफले बताउनुभयो । उहाँले रूस र अमेरिकाबीचका व्यापारिक सम्झौता पनि वार्ताको हिस्सा रहेको जानकारी पनि दिनुभयो । 

पछिल्लो समय ट्रम्पले युद्धविराममा सहमत हुन मस्को र किएभलाई दबाब दिइरहनुभएको छ । तर रूसी र अमेरिकी अधिकारीबीच पछिल्लो समय भएका वार्ता भने निष्कर्षमा पुगेका छैनन् । 

ट्रम्पका विशेषदूत विट्कफले गत शुक्रबार रूसी सहर सेन्ट पिटर्सबर्गमा पुटिनसँग भेटवार्ता गर्नुभएको थियो । रिपब्लिकन राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केपछि विट्कफ र पुटिनबीचको त्यो तेस्रो बैठक हो ।

पछिल्ला समय कूटनीतिक उथलपुथलका बावजुद युक्रेनमा युद्धविराम हुने ट्रम्पको मुख्य उद्देश्यमा यस घट्नाले केही प्रगति देखाएको विश्लेषण गरिएको छ । रूसी राष्ट्रपति पुटिनले गत महिना अमेरिकाले राखेको ३० दिने युद्धविराम प्रस्ताव अस्वीकार गर्नुभएको थियो । 

तर क्रेमलिनले ब्ल्याक सी क्षेत्रमा युद्धविराम गरेसँगै पश्चिमा देशले केही प्रतिबन्ध हटाएको जनाइएको छ ।