काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुससँग कुनै सम्झौता गर्नुअघि एक पटक युक्रेनको भ्रमण गर्न अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पलाई आमन्त्रण गर्नुभएको छ ।
सीबीएस टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा जेलेन्स्कीले रुससँग कुनै सम्झौता वा निर्णय लिनुअघि युक्रेन आएर यहाँका सर्वसाधारण, योद्धा, युद्धबाट ध्वस्त चर्च र युद्धमा ज्यान गुमाएका वा प्रभावित भएका बालबालिकाको अवस्थाबारे जानकारी लिन आग्रह गर्नुभएको हो ।
उक्त अन्तर्वार्ता युक्रेनको उत्तर पूर्वी शहर सुमीमा ३४ जनाको ज्यान जानेगरी रुसले गरेको विनाशकारी क्षेप्यास्त्र आक्रमणको घटना हुनुअघि रेकर्ड गरिएको बताइएको छ ।
ट्रम्पले सुमी आक्रमणलाई भयावह कुरा भन्नु भएको छ । जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्जले रुसमाथि युद्ध अपराध गरेको आरोप लगाउनुभएको छ ।
आइतबार भएको सुमी आक्रमणमा मारिने ३४ जनामा दुई जना बालबालिका छन् । १ सय १७ जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि दुवै पक्षबीच कम्तिमा ३० दिने आंशिक युद्धविराम गराउने प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन ।
यसक्रममा अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेत गरी रुसी पक्षसँग तीनपटक वार्ता गरिसकेको छ भने युक्रेनसँग पनि एक पटक औपचारिक वार्ता गरेको छ ।