काठमाडौं । रूसी आक्रमणमा परी युक्रेनकाे सुमीमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने १५ बालबालिका गरी ११७ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान १०:१५ मा दुईवटा इस्कान्दर प्रकारका ब्यालिस्टिक मिसाइलहरू सुमी राज्य विश्वविद्यालय र यसको सम्मेलन केन्द्रको वरिपरि खसेका थिए ।
कम्तीमा दुई बालबालिकाको ज्यान गएको पुष्टि भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीका अनुसार घाइतेहरूमा यसै वर्ष जन्मिएकी एक बालिका पनि छिन् । उक्त आक्रमणमा २० वटा भवनहरू क्षतिग्रस्त भएका छन्, जसमा चार वटा शैक्षिक संस्थाहरू, क्याफे, पसलहरू र पाँच वटा अपार्टमेन्ट भवनहरू परेका छन् । १० वटा कार र ट्रामहरू पनि क्षतिग्रस्त भएका छन् ।
जेलेन्स्कीले अन्य राष्ट्रहरूबाट ‘कडा’ प्रतिक्रिया दिन आग्रह गर्दै वार्ताले कहिल्यै पनि ब्यालिस्टिक मिसाइल र हवाई बमहरूलाई रोक्दैन भनेका थिए ।