काठमाडौं । अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमलाई लिएर पहिलो चरणको वार्ता भएको छ । ओमानको राजधानी मस्कटमा सम्पन्न वार्तालाई दुवै पक्षले सकारात्मक भनेका छन् ।
सन् २०१८ यता यो दुवै देशबीच भएको सबैभन्दा उच्चस्तरीय बैठक हो । अमेरिकाले सिधा संवादलाई सम्भावित सहमति जुटाउने कडीको रूपमा उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले सन् २०१८ मा अमेरिका र विश्व शक्तिहरूबीच भएको परमाणु सम्झौताबाट बाहिरिएको घोषणा गर्नुभएको थियो । उहाँले त्यतिबेला झन् राम्रो सम्झौता गर्ने प्रतिज्ञा गर्नुभएको थियो ।
यो वार्तालाई इरानको आणविक कार्यक्रममा सहमति सम्भव भए-नभएको निर्धारण गर्ने महत्त्वपूर्ण प्रारम्भिक पाइला मानिएको छ । करिब साढे दुई घण्टा चलेको वार्ता छोटो भए पनि सम्मानजनक वातावरणमा सम्पन्न भएको बीबीसीले उल्लेख गरेको छ ।
वार्ता प्रत्यक्ष नभएर परोक्ष रूपमा सञ्चालित थियो, जहाँ ओमानका विदेशमन्त्री बदर बिन हमाद अल-बुसैदीले सन्देश आदानप्रदान गर्नुभएको थियो । वार्ताअघि अमेरिकी विशेष दूत स्टीभ विट्कोफ र इरानी विदेशमन्त्री अब्बास अराघ्चीबीच केही मिनेट प्रत्यक्ष कुराकानी भएको बताइएको छ ।
सरकारी टेलिभिजनमा बोल्दै इरानी विदेशमन्त्री अराघ्चीले पहिलो बैठक शान्त र सम्मानजनक वातावरणमा सम्पन्न भएको बताउनुभयो । वार्तामा अमेरिकाले चेतावनीयुक्त भाषा प्रयोग नगरेको बताइएको छ । यसअघि राष्ट्रपति ट्रम्पले सिधा वार्ताका लागि तयार नभए इरानमाथि बमबारी गर्ने धम्की दिनुभएको थियो ।
इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । अमेरिका र इरानबीचको वार्ता क्षेत्रीय तनाव कम गर्न र बन्दी साटासाटको विषयमा पनि केन्द्रित हुने रोयटर्सले जनाएको छ ।