चीनको बेइजिङ तथा उत्तरी क्षेत्रमा आएको आँधीका कारण ८ सयभन्दा बढी उडान रद्द

एक्सप्रेस मेट्रो लाइन र हाई-स्पीड रेल सेवा स्थगित
चैत्र ३०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
चीनको बेइजिङ तथा उत्तरी क्षेत्रमा आएको आँधीका कारण ८ सयभन्दा बढी उडान रद्द

काठमाडौं । चीनको बेइजिङ तथा उत्तरी क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं उडान तथा रेल सेवा स्थगित गरिएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान साढे ११ बजेसम्म बेइजिङका दुई प्रमुख विमानस्थलहरूमा ८३८ वटा उडान रद्द गरिएको रोयटर्सले जनाएको छ ।

१५० किलोमिटर प्रतिघण्टा गतिको आँधी बेइजिङमा ५० वर्षयताकै शक्तिशाली भएको बताइएको छ । आँधीका कारण पर्यटकीय तथा ऐतिहासिक स्थलहरू बन्द गरिएका छन् । शुक्रबार सरकारले नागरिकहरूलाई घरमै बस्न आग्रह गरेको थियो । केही सरकारी सञ्चारमाध्यमहरूले ५० किलोग्रामभन्दा कम तौल भएका मानिसहरू आँधीले ‘सजिलै उड्न सक्ने’ चेतावनी समेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यस्तै एक्सप्रेस मेट्रो लाइन र केही हाई-स्पीड रेल सेवा स्थगित गरिएका छन् भने पार्कहरू बन्द गरिएका छन् । आइतबारसम्म अवस्था केही सहज हुने अनुमान गरिएको छ ।