अमेरिकी दूत विट्कोफ र रूसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

भेटवार्ता फलदायी भएकाे भनाइ
चैत्र ३०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी दूत विट्कोफ र रूसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं । अमेरिकी दूत स्टिभ विट्कोफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सेन्ट पिटर्सबर्गमा भेट गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूसी समकक्षी पुटिनलाई युक्रेनमा युद्धविरामको लागि "अघि बढ्न" आग्रह गरेलगत्तै शुक्रबार उक्त भेटवार्ता भएको हो।

क्रेमलिनले भेटवार्ता चार घण्टाभन्दा बढी चलेको र "युक्रेनी समाधानका पक्षहरू" मा केन्द्रित भएको जनाएको छ । विशेष दूत किरिल दिमित्रिभले यो वर्ष विट्कोफले पुटिनसँग गरेको तेस्रो भेटवार्तालाई फलदायी रहेको प्रतिक्रिया दिनुभएको छ ।

युरोपेली देशका रक्षामन्त्रीहरूले युद्ध समाप्त हुने कुनै संकेत नदेखेको भन्दै शुक्रबार किएभका लागि २४ अर्ब डलर सैन्य सहायतामा सहमति जनाएको पृष्ठभूमिमा अमेरिकी दूत र रूसी राष्ट्रपतिबीच भेट भएको हो ।

पुटिन-विट्कोफ वार्ताअघि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले "सम्बन्ध सामान्यीकरणको प्रक्रिया जारी रहेकोले कुनै सफलताको आशा गर्न आवश्यक नभएको प्रतिक्रिया दिनुभएको थियो ।