काठमाडौं । चीनले अमेरिकासँगको कर विवाद समाधानका लागि वार्ता गर्न तयार रहेको जनाएको छ । यद्यपि उसले अन्तिम समयसम्म लड्ने भन्दै अमेरिकी दबाबका अगाडि झुक्न वा पछाडि हट्न भने अस्वीकार गरेको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले विश्वका ६० भन्दा बढी देशमाथि लगाएको उच्च कर ९० दिनका लागि स्थगित गर्दै चीन विरुद्ध मात्र १२५ प्रतिशत आयात कर कायम राखेपछि चीनले वार्ताका लागि तयार रहेको बताएको हो । अमेरिकी कदमको प्रतिकारमा चीनले अमेरिकाबाट आयात हुने वस्तुमा लगाएको ८४ प्रतिशत कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे योंगचियानले अमेरिकासँग वार्ताको ढोका खुला रहेको बताउनुभएको हो । उहाँले पारस्परिक सम्मान र समानताका आधारमा वार्ता हुनुपर्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चीनले सम्झौता गर्न चाहेको तर कसरी अगाडि बढ्ने भन्ने विषयमा ऊ अझै अन्योलमा रहेको बताउनुभएको थियो ।
ट्रम्पले उच्च आयात कर ९० दिनका लागि स्थगित गरे पनि १० प्रतिशत वैश्विक आयात कर भने कार्यान्वयनमा आएको छ । यस्तै जुनसुकै देशबाट पनि अमेरिका आयात हुने एल्युमिनियम, स्टील र कारमाथिको २५ प्रतिशत कर पनि कार्यान्वयनमा आएको छ ।
ट्रम्पले ९० दिनका लागि उच्च आयात कर स्थगनको घोषणा गर्नुका पछाडि अमेरिकी सरकारको ऋणपत्रमा संकटको संकेत देखा पर्नुरहेको विश्लेषण गरिएको छ । लगानीकर्ताहरूले सस्तो दरमा व्यापक मात्रामा ऋणपत्र बिक्री गर्न लागेपछि ट्रम्प दबाबमा परेको स्रोतलाई उल्लेख गर्दै सीएनएले जनाएको छ । अर्थमन्त्री स्कट बेसेन्टले यसविषयमा चिन्ता जनाएपछि ट्रम्प उक्त निर्णयमा पुग्नुभएको बताइएको छ ।
उता ट्रम्पले उच्च आयात कर स्थगित गरेपछि २५ प्रतिशत प्रतिशोधात्मक कर लगाउने तयारीमा रहेको यूरोपेली संघले पनि आफ्नो योजना ९० दिनकै लागि पछि धकेलेको छ ।
उच्च आयात कर स्थगित गर्ने ट्रम्पको घोषणाले विगत केही दिनदेखि ओरालो लागेको एशियाली र युरोपेली शेयर बजार पुन: लयमा फर्किएको छ । तर विज्ञहरूले क्षति भइसकेको र अझै पनि वैश्विक अर्थतन्त्र मन्दीमा जान सक्ने विश्लेषण गरेपछि अमेरिकी शेयर बजार भने ओरालो लागेको छ ।