१५५ चिनियाँ नागरिक रूसको तर्फबाट युद्ध लडिरहेको युक्रेनका राष्ट्रपतिको दाबी

चैत्र २८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
१५५ चिनियाँ नागरिक रूसको तर्फबाट युद्ध लडिरहेको युक्रेनका राष्ट्रपतिको दाबी

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कम्तीमा १५५ जना चिनियाँ नागरिक रूसका तर्फबाट युद्ध लडिरहेको दाबी गर्नुभएको छ । मंगलबार मात्रै जेलेन्स्कीले आफ्नो सेनाले रूसका तर्फबाट लडिरहेका दुई जना चिनियाँ लडाकुलाई दोनेत्स्क क्षेत्रबाट नियन्त्रणमा लिएको बताउनुभएको थियो । 

चीनले युक्रेन विरुद्धको युद्धमा सघाउन रूसलाई जनशक्ति आपूर्ति गरिरहेको भन्ने किएभको यो पहिलो औपचारिक आरोप थियो । बुधबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले जारी युद्धमा थुप्रै चिनियाँ नागरिक रुसका तर्फबाट लडिरहेकेा दाबी दोहोर्‍याउनु भएको हो । 

त्यसअघि चिनियाँ विदेश मन्त्रालयका एक जना प्रवक्ताले चिनियाँ नागरिक रूसका तर्फबाट लडिरहेको भन्ने आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेका थिए । जेलेन्स्कीले दिएको ताजा तथ्यांकबारे भने बेइजिङले कुनै प्रतिक्रिया जनाइसकेको छैन । जेलेन्स्कीले ती चिनियाँ नागरिकलाई सामाजिक सञ्जाल लगायतमा दिइएको विज्ञापन मार्फत रूसी सेनामा भर्ना गरिएको गुप्तचरी सूचना रहेको बताउनुभएको छ ।

रूसले युक्रेनमाथि २०२२ मा पूर्णस्तरको युद्ध सुरु गरेयता बेलायत र अमेरिका लगायत केही देशका नागरिक आ-आफनो देशको सरकारको सल्लाह विपरीत युक्रेनी सेनाको साथमा लागेर युद्ध लडिरहेको कुरा जानकारीमा रहेको सीएनएनले जनाएको छ । सम्बन्धित देशमा रहेका युक्रेनी दूतावासले त्यस्ता विदेशी लडाकु भर्तीमा सहयोग गरेको र यसरी भोलेन्टियरका रूपमा भर्ना गरिएकामध्ये केही विदेशी लडाकु युद्धका क्रममा मारिएको समाचारमा जनाइएको छ ।

उता रूसले पनि नेपाल लगायत देशका मानिसलाई विभिन्न प्रलोभन दिएर आफनो सेनामा भर्ना गर्दै युक्रेन विरुद्धको युद्धमा लडन पठाएको घटना पनि नयाँ होइन । उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धमा रूसलाई सघाउन करीब १४ हजार सैनिक रूसको कुर्स्क क्षेत्रमा पठाएको यसअघि नै सार्वजनिक भइसकेको छ ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूस र युक्रेनबीच युद्धविरामको पहल गरे पनि त्यो सफल हुन सकेको छैन ।