काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग कुराकानीका लागि तयार रहेको बताउनुभएको छ । चीनमाथि अमेरिकाले १ सय २५ प्रतिशतभन्दा बढीको भन्सार दर लगाएपछि दुई देशबीच पूर्णस्तरको कर युद्ध चर्किएपछि ट्रम्प केही लचक देखिनु भएको हो ।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चिनियाँ समकक्षीसँग वार्ताका लागि आफु तयार रहेको बताउनुभएको हो । उहाँले चीन तथा अन्य कुनै दोस्रो मुलुकसँग ‘निष्पक्ष सम्झौता’ गरिने पनि बताउनुभयो ।
ट्रम्पले उच्च अमेरिकी महसुलको मारमा परेका चीनबाहेकका देशहरूका लागि ९० दिनको रोकको घोषणा समेत गर्नुभयो ।
यसको अर्थ अधिकांश मुलुकलाई भन्सार शुल्क १० प्रतिशत मात्र लागू हुनेछ । ट्यारिफमा छुटको खबरपछि उथल-पुथलको सामना गरेको वित्तीय बजारमा उछाल आएको छ । विश्लेषकहरूले अमेरिका अधिकांश देशसँग राम्रो व्यवहार गर्न थालेको बताएका छन् ।
एन्थनी जुर्चरले भने अन्य मुलुकसँग राम्रो व्यवहार गरे पनि चीनसँग व्यापार युद्ध थप बढ्ने खतरा रहेको बताउनुभएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने वस्तुमा १ सय ४ प्रतिशत आयात कर लगाएपछि चीनले उक्त कदमलाई दादागिरीको संज्ञा दिँदै जवाफमा अमेरिकाबाट आयात हुने सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।
यसअघि ट्रम्पको थप ३४ प्रतिशत आयात करको बदलामा चीनले पनि ३४ प्रतिशत नै जवाफी करको घोषणा गरेको थियो।