काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रूसी सेनासँगै युक्रेन विरुद्धको युद्धमा संलग्न दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको दाबी गर्नुभएको छ । युक्रेनी सीमामा रहेको डोनेट्स्क क्षेत्रमा नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग परिचयपत्र, बैंक कार्ड र व्यक्तिगत जानकारी पनि फेला परेको जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत दाबी गर्नुभएको हो ।
यी दुई व्यक्ति बाहेक युक्रेन नजिकै रूसी सेनामा धेरै चिनियाँ नागरिकहरू रहेको रिपोर्ट प्राप्त भएको जेलेन्स्कीले बताउनुभएको छ । यी तथ्यहरूमाथि गुप्तचर विभाग, युक्रेनको सुरक्षा सेवा र सेनाका सम्बन्धित विभागहरूले अनुसन्धान गरिरहेका छन् । जेलेन्स्कीले युक्रेनका विदेशमन्त्रीलाई तुरुन्तै चीनसँग सम्पर्क गर्न र यस विषयमा छलफल गर्न निर्देशन पनि दिनुभएको छ । यसैबीच, युक्रेनका विदेशमन्त्री एन्ड्रिया सिबिहाले पनि सामाजिक सञ्जालमा एक पोस्ट मार्फत यस विषयमा प्रक्रिया अघि बढेको बताएका छन् ।
युक्रेन सरकारले पनि युक्रेनमा रूसी सेनासँग चिनियाँ नागरिकहरूको संलग्नताको कडा आलोचना गरेको छ । चिनियाँ राजदूतलाई यस विषयमा आपत्ति जनाएको युक्रेनी सरकारले चीनसँग स्पष्टीकरण माग्ने बताएको छ ।