दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपति निर्वाचन

चैत्र २६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपति निर्वाचन

काठमाडौं । दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपति पदको निर्वाचन हुने भएको छ ।

संवैधानिक अदालतको निर्णयले निवर्तमान राष्ट्रपति यून सुक योल पदमुक्त भएपछि त्यहाँ समय अगावै राष्ट्रपति निर्वाचन हुन लागेको हो । देशमा सैनिक शासन लागू गर्ने घोषणा गरेबापत संसदले यूनविरुद्ध महाभियोग पारित गरेको थियो भने यसै शुक्रबार संवैधानिक अदालतले महाभियोगलाई अनुमोदन गरेसँगै युन बर्खास्त हुनु भएको हो । संवैधानिक अदालतको फैसलाको चार दिनपछि कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हाड डुक सुको नेतृत्वमा आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ निर्वाचनको निर्णय गरेको हो ।

दक्षिण कोरियाको संविधान अनुसार राष्ट्रपतिको पद रिक्त भएको ६० दिनभित्र नयाँ राष्ट्रपतिका लागि निर्वाचन गरिनुपर्छ ।

संवैधानिक अदालतले शुक्रवार युनलाई पदबाट बर्खास्त गरेयता नै निर्वाचन आयोगले समय अगावै उम्मेदवार दर्ताको प्रक्रिया शुरु गरिसकेको छ । उम्मेदवार हुने व्यक्तिले आगामी मे ११ सम्म आफ्नो नामांकन दर्ता गरिसक्नुपर्छ ।

सन् २०२२ को निर्वाचनमा यूनसँग झिनो मतान्तरले पराजित हुनु भएका विपक्षी लिबरल डेमोक्र्याटिक पार्टीका लोकप्रियतावादी नेता लि जाए म्युङ राष्ट्रपति पदका लागि सबैभन्दा सशक्त नेताका रुपमा देखिनु भएको छ । तर, उहाँविरुद्ध पनि भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन छ ।

सत्तारुढ पिपुल पावर पार्टी-पीपीपीसँग भने एकल स्पष्ट उम्मेवार नभएको स्थानीय समाचार माध्यमले जनाएका छन् । यो अवस्थामा पीपीपीका १० भन्दा बढी नेता राष्ट्रपति पदको उम्मेदवारीका लागि पार्टीको प्राइमरीमा प्रतिष्पर्धा गर्ने स्थानीय समाचार माध्यमले उल्लेख गरेका छन् ।