युद्धविराम भंग भएको चार दिनमै गाजामा इजरायलको आक्रमणमा करिब ६ सय जनाको मृत्यु

चैत्र ९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
युद्धविराम भंग भएको चार दिनमै गाजामा इजरायलको आक्रमणमा करिब ६ सय जनाको मृत्यु

काठमाडौं । इजरायलले गत मंगलबार गाजा युद्धविराम तोडेयता झण्डै ६ सय प्यालिस्टिनी नागरिकको मृत्यु भएको छ । जसमा १ वर्षे शिशसुसँगै कम्तीमा २ सय बालबालिका र १ सय १० जनाभन्दा बढी महिला छन्।

गाजाको स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएयता ४९ हजार ६ सय १७ प्यालिस्टिनी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ भने १ लाख १२ हजार ९ सय ५० जना घाइते भएको बताएको छ । 

गाजाको सरकारी मिडिया कार्यालयले भने भग्नावषेशमा पुरिएका हजारौँलाई समावेश गर्दै मृतकको संख्या ६१ हजार ७ सय भन्दा बढी रहेको आँकलन गरेको छ ।

यसैबीच जर्मनी, फ्रान्स र बेलायतले शुक्रबार संयुक्त वक्तव्यमा गाजामा तत्काल युद्धविराम बहाली गर्न आग्रह गर्दै इजरायललाई मानवतावादी पहुँच पुन:स्थापित गर्न आह्वान गरेका छन्। 

तीन देशका विदेशमन्त्रीहरूले संयुक्त विज्ञप्तिमा "हामी इजरायललाई मानवतावादी पहुँच पुन:स्थापित गर्न, पानी र बिजुलीसँगै अन्तर्राष्ट्रिय मानवतावादी कानूनी प्रावधानहरूअनुसार चिकित्सा सेवामा पहुँच र अस्थायी चिकित्सा निकासीको सुनिश्चितता गर्न आह्वान गर्दछौं" भनेका छन् ।

ई थ्री भनेर चिनिने तीन देशका विदेशमन्त्रीहरूले इजरायल र प्यालिस्टाइनबीचको द्वन्द्व सैन्य माध्यमबाट समाधान गर्न नसकिने भन्दै दीर्घकालीन युद्धविराम मात्रै शान्तिको एक मात्र विश्वसनीय मार्ग भएकोमा जोड दिएका छन् ।