काठमाडौं । लन्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको विद्युत् उपकेन्द्रमा आगलागी भएपछि शुक्रबार मध्यरातसम्मका लागि विमानस्थल बन्द गरिएको छ । योसँगै वैश्विक उडान तालिका नै प्रभावित भएको छ ।
विद्युत् उपकेन्द्रमा आगलागीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएकाले विमानस्थलको सेवा सञ्चालन बन्द गर्नुपरेको हो । हिथ्रो विश्वको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल हो । हिथ्रो विमानस्थलले सूचना जारी गर्दै विमानस्थल पुनः नखुल्दासम्म कुनै पनि हालतमा त्यहाँ नआउन यात्रुलाई सजग गराएको छ ।
हवाई उडानको निगरानी गर्ने वेबसाइट फ्लाइट रेडार ट्वेन्टी फोरले आज हिथ्रो विमानस्थलबाट उड्ने र आउने कम्तीमा १३ सय ५१ उडान रद्द हुन सक्ने जनाएको छ । यसबाट झन्डै २ लाख ९१ हजार यात्रु प्रभावित हुनेछन् ।
हेइजस्थित विद्युत् उपकेन्द्रमा लागेको आगोका कारण हिथ्रो विमानस्थलका साथै सो क्षेत्रका ४ हजार ९ सयभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको र १५० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
आगालागीको कारण भने अहिलेसम्म पत्ता नलागेको बीबीसीले जनाएको छ ।