युद्धविरामका लागि वार्ताको तयारी भइरहँदा रूसद्वारा युक्रेनमा आक्रमण जारी

चैत्र १०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
युद्धविरामका लागि वार्ताको तयारी भइरहँदा रूसद्वारा युक्रेनमा आक्रमण जारी

काठमाडौं । रूस-युक्रेन युद्धविरामका लागि सोमबार साउदी अरबमा वार्ताको तयारी भइरहँदा रूसले भने युक्रेनमाथिको आक्रमणलाई निरन्तरता दिइरहेको छ । रूसी सेनाले गए राति युक्रेनको राजधानी किएभका विभिन्न क्षेत्रमा गरेको भीषण ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । 

मारिनेमा एक जना पाँच वर्षीय बालक समेत रहेको जनाइएको छ । आक्रमणका कारण राजधानीका थुप्रै भवनमा क्षति पुगेको राष्ट्रिय प्रहरीलाई उल्लेख गर्दै स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

रूस र युक्रेनबीच आंशिक युद्धविराम गर्ने सम्बन्धी अमेरिकी प्रस्तावमाथिको वार्ता सोमबार साउदी अरबमा पुनः सुरु हुँदैछ । अमेरिकी वार्ताकारहरूले युक्रेन र रूसी प्रतिनिधिसँग सोमबार साउदी अरबमा बेग्लाबेग्लै वार्ता गर्ने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गत साता गरेको बेग्लाबेग्लै टेलिफोन वार्तामा दुवै देशले सैद्धान्तिक रूपमा ३० दिनका लागि सीमित युद्धविराम गर्न सहमति जनाएका थिए । ट्रम्पले गत मंगलबार पुटिनसँग र बुधबार जेलेन्स्कीसँग बेग्लाबेग्लै र लामो टेलिफोन वार्ता गर्नुभएको थियो । यसअघि अमेरिकाले रूस र युक्रेनसँग विदेशमन्त्री स्तरमा साउदी अरेबियामै बेग्ला बेग्लै गरी एक चरणको वार्ता गरिसकेको छ ।

तर सीमित युद्धविराम अन्तर्गत कुन कुन क्षेत्रमा आक्रमण बन्द गरिने हो भन्नेमा तीन वटै पक्षका फरक फरक दृष्टिकोण देखापरेका छन् ।

ह्वाइट हाउसले ऊर्जा र पूर्वाधारमा आक्रमण नगरिने जनाएको छ भने क्रेमलिनले अहिलको सम्झौताले ऊर्जा संरचनालाई मात्र समेटने बताएको छ । उता युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने रेलवे र बन्दरगाह समेत आक्रमण नगरिने क्षेत्रमा समेटिनु पर्ने बताउनु भएको छ ।

अमेरिकाले अघि सारेको जल,थल र हवाई तीनै क्षेत्रमा ३० दिने युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकारेपनि राष्ट्रपति पुटिनले भने त्यसलाई अस्वीकार गर्दै ऊर्जा क्षेत्रमा मात्रै सीमित युद्धविराम गर्न सहमति जनाउनु भएको थियो ।