स्ववियु निर्वाचनको नतिजा आउने क्रम सुरु, पुल्चोकमा स्वतन्त्र उम्मेदवार विजयी

चैत्र ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्ववियु निर्वाचनको नतिजा आउने क्रम सुरु, पुल्चोकमा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन-स्ववियुको आज भएको निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ ।

प्राप्त पछिल्लो परिणामअनुसार थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघका प्रल्हाद खड्का अध्यक्षमा निर्वाचित हुनु भएको छ भने पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी हुनु भएको छ ।

यस्तै, चितवनको रामपुरस्थित चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित हुनु भएको छ । अधिकारीलाई नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीको समर्थन थियो । यस्तै, चितवनको शारदानगरस्थित सहिद स्मारक कलेजको अध्यक्षमा नेविसंघका अनिष थापामगर विजयी हुनु भएको छ । अन्य क्याम्पसमा मतगणना भइरहेको छ ।

आज त्रिवि अन्तर्गतका ४२ आंगिकसहित करिब २ सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको हो। निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ । काठमाडौं उपत्यकाका अधिकांश ठुला क्याम्पसमा भने निर्वाचन अवरुद्ध भएका छन् ।

काठमाडौं उपत्यकाका आरआर, त्रि-चन्द्र, पाटन, पद्मकन्या, अस्कल, सरस्वती, पब्लिक युथ तथा विश्वविद्यालय केन्द्रीय क्याम्पस गरी ११ क्याम्पसमा निर्वाचन हुन सकेका छैनन् । देशभर १८ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेका छैनन् । पाटन बहुमुखी क्याम्पसमा नेविसंघ र एमालेनिकट अनेरास्ववियूबीच झडप भएको छ । त्यस्तै पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि निर्वाचन हुन सकेन । पृथ्वीनारायण क्याम्पसमा भोलि, पद्मकन्यामा बिहीबार र विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शुक्रबार निर्वाचन हुने कार्यतालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement