कञ्चनपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका सम्बन्धन प्राप्त ६ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
मंगलबार त्रिविले तोकेको निर्धारित समयमै मतदान कार्यक्रम भएको हो । निर्वाचन भएका क्याम्पसहरूमा रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी क्याम्पस कलकत्ता बेलौरी, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र भानु बहुमुखी क्याम्पस दोधाराचाँदनी रहेका छन् । सम्बन्धित क्याम्पसहरूका अनुसार आजै मतगणना गरिने छ ।
यसअघि, कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी र दानेश्वर बहुमुखी क्याम्पसमा भने स्ववियु निर्विरोध चयन भइसकेको छ । झलारीस्थित कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको सभापतित्वमा अखिल क्रान्तिकारी र अनेरास्ववियु सहितको भागबण्डा भएको हो । त्यस्तै, दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै निर्विरोध विजयी भएको थियो । रामपुर बहुमुखी क्याम्पसमा सभापतिमा मात्रै निर्वाचन भएको छ भने अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध चुनिएका थिए ।
यस पटक सिद्धनाथ विज्ञान क्याम्पस सहित कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, जनज्योति, घटाल, उदय सरस्वती, वारिधी, बालजागृति लगायतका क्याम्पसमा निर्वाचन हुन सकेन । सिद्धनाथ विज्ञान क्याम्पसले धम्कीका कारण निर्वाचन स्थगित गर्नुपरेको जनाएको छ भने अनेरास्ववियुले वारिधी र बालजागृतिमा तालाबन्दी गरेको छ ।