इङलिस प्रिमियर लिग : आर्सनलद्वारा चेल्सि पराजित

चैत्र ४, २०८१ |खेल ब्युरो
इङलिस प्रिमियर लिग : आर्सनलद्वारा चेल्सि पराजित

काठमाडौं । इङलिस प्रिमियर लिगमा आर्सनलले चेल्सिलाई १-० गोलले पराजित गरेको छ । म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० गोलले पराजित गर्यो ।

इमिरेट्स स्टेडियममा गएराती भएको खेलमा दुवै टिम आफ्ना पहिलो रोजाइका स्ट्राइकर विना मैदान उत्रिएका थिए । आर्सनलका काइ हाभर्टर्सले ह्यामस्ट्रिङको चोटका कारण सिजननै गुमाएका छन् । 

चेल्सिका निकलस ज्याक्सन उपलब्ध थिएनन् । चेल्सिका अर्को महत्वपुर्ण खेलाडी कोल पाल्मरले पनि यो खेल खेलेनन् ।

चोटकै कारण पाल्मर स्क्वाड भन्दा बाहिर भएका हुन् । गत वर्षको अप्रिलमा आर्सनल सँग ५-० गोलले पराजित भएयता चेल्सि पहिलो पटक पाल्मर विना मैदान उत्रिएको हो । आर्सनलका लागि २० औं मिनेटमा मिकेल मरिनोले गरेको गोल निर्णायक बन्यो । 

दोस्रो स्थानमा रहेको आर्सनलको २९ खेलबाट ५८ अंक छ । शीर्ष स्थानको लिभरपुल १२ अंकले अघि छ । चेल्सि ४९ अंकका साथ चौथो स्थानमा छ । यस्तै युनाइटेडका रास्मस होइलुन्डले २१ खेल देखीको गोलको खडेरी तोडेका छन् । 

रेलिगेसनबाट बच्न संघर्षरत लेस्टर विरुद्ध युनाइटेडले २८ औं मिनेटमा होइलुन्डको गोलमार्फत अग्रता लिएको थियो । डेनिस स्ट्राइकरले गत डिसेम्बर १२ यता गोल गर्न सकेका थिएनन् । ६७ औं मिनेटमा अलेहान्द्रो गारान्चोले अग्रता दोब्बर बनाए । 

९०औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोल सँगै युनाइटेडले सहज जीत हात पार्यो । अघिल्ला दुई गोलका लागि पनि ब्रुनोले असिस्ट गरेका थिए । युनाइटेड ३७ अंक जोड्दै १३ औं स्थानमा छ । लेस्टर १७ अंक् बटुल्दै १९ औं स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement