काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा हिजो अपहरणमा परेको रेलका १५५ जना यात्रुलाई मुक्त गराएको त्यहाँको सुरक्षा बलले जनाएको छ । मुक्त गराइएका यात्रुहरू कडा सुरक्षाबीच आज क्वेटा रेलवे स्टेशनसम्म आइपुगेको र बाँकीलाई मुक्त गराउने प्रयास जारी रहेको बताइएको छ ।
रेल अपहरणकर्ता समूह विरुद्ध सुरक्षाकर्मीको कारबाही जारी रहेको र अहिलेसम्म २७ जना आतंककारी मारिएको सुरक्षा फौजले जनाएको छ । आत्मघाती बम बोकेका लडाकुले महिला र बालबालिकालाई बन्धक बनाएकाले उद्धारकार्य कठिन बन्दै गएको सुरक्षा स्रोतलाई उल्लेख गर्दै जियो टिभीले जनाएको छ । सुरक्षा स्रोतका अनुसार आत्मघाती विस्फोटकहरूले तीन भिन्न स्थानमा महिला तथा बालकालिकालाई नियन्त्रणमा लिएको र उनीहरूलाई मानव ढालका रूपमा प्रयोग गरिरहेका छन् ।
सशस्त्र पृथक्तावादी समूह बलोच लिबरेसन आर्मी बीएलएले हिजो क्वेटाबाट पेशावरतर्फ गइरहेको जाफर एक्सप्रेस रेललाई बलोचिस्तान प्रान्तको बोलान जिल्लामा आक्रमण गरी आफ्नो नियन्त्रणमा लिएको थियो । आक्रमणकारीले पहिले बम विस्फोट गराई रेलवे ट्रयाकलाई ध्वस्त बनाएका थिए भने त्यसपछि अन्धाधुन्ध गोली प्रहार गर्दै रेललाई आफ्नो नियन्त्रणमा लिनुका साथै यात्रुलाई बन्धक बनाएका थिए ।
३० घण्टा लामो यात्रामा निस्किएको उक्त रेलमा नौ वटा डब्बा भएको र त्यसमा ४ सयदेखि ५ सय यात्रु सवार रहेको बताइएको छ ।
बलोच लिबरेशन आर्मी एउटा सशस्त्र पृथक्तावादी समूह हो भने यसले बलोचिस्तानलाई पाकिस्तानबाट अलग्याउने उद्देश्यका साथ लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएको छ ।