हमासले रेडक्रसलाई बुझायो चार इजरायली बन्धकको शव

फाल्गुन १५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हमासले रेडक्रसलाई बुझायो चार इजरायली बन्धकको शव

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले चार इजरायली बन्धकको शव रेडक्रसको जिम्मा लगाएको छ । एक इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले हमासद्वारा चार इजरायली बन्धकको शव बुझाइएको उल्लेख गरेको हो ।

ती अधिकारीका अनुसार इजरायलले वेस्ट ब्यांकस्थित ओफर जेलबाट ६ सयभन्दा बढी प्यालेस्टाइनी कैदीलाई रिहा गर्न सुरू गरेको छ । यसलाई युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणको अन्तिम आदान–प्रदान भनिएको छ । कैदीहरू रिहाइको क्रम शनिबारसम्म जारी रहने बताइएको छ ।

हमासले जिम्मा लगाएका चार शवको पहिचानको पुष्टि गरिएको छैन । यद्यपि, हमासले ८६ वर्षीय श्लोमो मन्सूर, ५० वर्षीय ओहद लाहलोमी, त्साची इदान र ६९ वर्षीय इत्जिक एल्गारट रहेको जिकिर गरेको छ । यी सबैलाई २०२३ अक्टुबर ७ को आक्रमण दौरान हमासले राखेको थियो । इजरायलले बन्धक हस्तान्तरण अपमानजनक भन्दै विरोध गरेर कैदी रिहाइमा ढिलाई गरेको बताइँदै छ । 

हमास बुधबार मात्रै बिनाकुनै समारोह शव हस्तान्तरणमा सहमत भएसँगै ६ सय कैदी बन्दी रिहाइको बाटो खुलेको इजरायली अधिकारीले बताएका छन् । गाजा सीमामा परिवार सहित चार शवको पहिचान संवेदनशील ढंगले चाँडो गरिने अधिकारीहरूको भनाइ छ ।



Enter Kantipur TV HD
Advertisement