काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ता तनावपूर्ण भएको छ । दुर्लभ खनिज सम्झौता र अमेरिकालाई रूसको पक्षमा जान रोक्ने उद्देश्यले युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टन पुग्नुभएको थियो ।
ओभल हाउसमा भएको भेटवार्तामा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिकालाई अपमान गरेको आरोप लगाएपछि वातावरण अप्रिय बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जेलेन्स्कीलाई बैठकबाट बाहिर जान भनिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। बैठकको क्रममा जेलेन्स्कीले ट्रम्प र भान्सको आक्रोशपूर्ण व्यवहारको सामना गर्नुपर्यो ।
ट्रम्पले जेलेन्स्कीको राम्रो स्थिति नभएको र युक्रेनसँग कुनै उपाय नभएको टिप्पणी गर्नुभयो । जवाफमा जेलेन्स्कीले आफूले कुनै खेल नखेलिरहेको भन्दै गम्भीर रहेको बताउनुभयो । ट्रम्पले जेलेन्सकीलाई लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै गरेको आरोप मात्र लगाउनुभएन तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको समेत भन्न भ्याउनुभयो ।
जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्वास गर्न नसकिने भन्दै मस्कोप्रति नरम रवैया नअपनाउन आग्रह गर्दै ट्रम्प र भान्सको प्रतिवाद गर्नुभयो ।
वार्तापछि ट्रम्पले दुई वरिष्ठ सहयोगीहरूलाई जेलेन्स्कीलाई बैठक छोड्न निर्देशन दिएको बताइएको छ । योसँगै अमेरिका-युक्रेन खनिज सम्झौतामा हस्ताक्षर त भएन नै युरोपेली नेताहरूले ट्रम्पलाई किएभका लागि सुरक्षा ग्यारेन्टी दिन अनुरोध गर्ने प्रयासलाई पनि कमजोर बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन् ।
ट्रम्पले जेलेन्स्कीलाई यसअघि तानाशाह भनेर आलोचना गर्नुभएको थियो । तर, अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न तयार भएसँगै ट्रम्पले बहादुर भन्दै जेलेन्स्कीको तारिफ गर्नुभएको थियो ।
युरोपेली नेताहरूले सामाजिक सञ्जालको माध्यमबाट जेलेन्स्कीलाई समर्थन गरेका छन् ।