काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै युक्रेन शान्ति सम्झौतासँगै अमेरिका-बेलायतबीच व्यापार सम्झौता हुने बताउनुभएको छ ।
बेलायती प्रधानमन्त्री केयर स्टार्मरसँगको भेटवार्तापछि ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले आफूलाई युक्रेन शान्ति सम्झौता र अमेरिका र युके व्यापार सम्झौता छिट्टै हुने विश्वास रहेको बताउनुभएको हो । ट्रम्पले उक्त व्यापार सम्झौतामा आयात कर वा ट्यारिफ नहुने पनि प्रष्ट पार्नुभयो ।
युक्रेन युद्धविरामबारे छिट्टै सहमति हुने र त्यो एकदमै नयाँ हुने प्रतिक्रिया ट्रम्पले स्टार्मरसँगको दिनुभएको हो । उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आफूले सम्मान गर्ने र युकेनी सेनाकोसमेत प्रशंसा गरिनुपर्ने बताउनुभयो ।
ट्रम्पले चागोस द्वीप समूह मौरिससलाई सुम्पिने बेलायती योजनामा साथ रहन इच्छुक रहेको धारणासमेत राख्नुभएको छ । यसैबीच, उहाँले बेलायतको राजकीय भ्रमणका लागि बेलायती राजा चाल्र्सको निमन्त्रणा स्वीकार गर्नुभएको छ । ओभल अफिसमा क्यामेराको अगाडि निमन्त्रणा पत्र लिँदै ट्रम्पले यो "ठूलो सम्मान" हुने प्रतिक्रिया दिनुभयो भने बेलायती राजालाई "एक अद्भुत मानिस" भनेर वर्णन पनि गर्नुभयो ।
निमन्त्रणा स्वीकार गरेपछि, ट्रम्पले बेलायती प्रधानमन्त्रीसँगै ३० मिनेटसम्म पत्रकारका प्रश्नको जवाफ दिनुभएको थियो ।