काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभेल अफिसमा शुक्रबार भएको विवादले विश्व राजनीति नै तरंगित भएको छ । ट्रम्पले बैठकस्थलबाट बाहिर जान भन्दै जेलेन्स्कीलाई गरेको व्यवहारको अमेरिकाभित्रै विरोध भएको छ भने युरोप र अमेरिकाबीचको सम्बन्ध समेत प्रभावित हुने आकलन गरिएको छ । खासमा के भएको थियो त्यो वार्तामा, जसको यतिखेर विश्वभर नै चर्चा र बहस भइरहेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई अमेरिकाले दुर्लभ खनिज सम्बन्धी सम्झौता गर्न निम्त्याएको थियो । सोही क्रममा बिहीबार अमेरिका पुग्नुभएका जेलेन्स्की र ट्रम्पबीच शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा वार्ता भयो, जसमा उपराष्ट्रपति जेडी भान्स पनि सहभागी हुनुहुन्थ्यो । वार्तामा जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग हुने शान्ति वार्तामा कुनै सम्झौता नहुने अडान राख्नुभयो । तर, उपराष्ट्रपति भान्सले कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्न सकिने बताएपछि दुई नेताबीच बहस सुरू भयो ।
यस क्रममा जेलेन्स्कीले चर्को स्वरमा नबोल्न बनेपछि स्थिति तनावपूर्ण भयो । लगत्तै ट्रम्प र भान्सले युक्रेनले अमेरिकालाई अपमान गरेको आरोप लगाएका थिए भने ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खाजेको आरोप पनि युक्रेनलाई लगाउनुभयो । त्यसपछि वार्ता तनावपूर्ण मोडमा पुगेको थियो । यही क्रममा ट्रम्पले आफ्ना सहयोगीमार्फत जेलेन्स्कीलाई बैठकस्थलबाटै निस्कन भन्नुभएको थियो ।
यो घटनाको विश्व कूटनीतिक वृत्तमा व्यापक बहस भइरहेका छन् । बेलायतसहित पूरै युरोप र क्यानडा युक्रेनको पक्षमा उभिएका छन् भने अमेरिकामा पनि ट्रम्पले गरेको व्यवहार कूटनीतिक मर्यादा अन्तर्गत नरहेको भन्दै आलोचना भइरहेको छ ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भान डर लियनले सामाजिक सञ्जाल मार्फत निडर र साहसी हुन युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आग्रह गर्नुभएको छ । बेलायत, फ्रान्स, पोल्यान्ड, नर्वे, स्पेन, आयरल्यान्ड, जर्मन र इटाली लगायतका युरोपेली मुलुकले युक्रेनलाई समर्थन जनाउँदै युक्रेनले आफ्नो मात्र नभई सम्पूर्ण युरोपको स्वतन्त्रताका लागि लडिरहेको स्पष्ट पारेका छन् ।
यस्तै, पछिल्लो समय अमेरिकासँग तिक्ततापूर्ण सम्बन्ध रहेको क्यानडाले पनि युक्रेनको पक्षमा समर्थन जनाएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेन लोकतन्त्रका लागि लडिरहेको भन्दै युक्रेनलाई पक्षमा आफनो समर्थन जारी राख्ने स्पष्ट पार्नुभएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले समेत अन्तर्राष्ट्रिय कानुनलाई ध्यानमा राख्दै युक्रेनलाई दिँदै आएको समर्थन जारी राख्ने स्पष्ट पार्नुभएको छ ।
अमेरिकामा पनि राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सले आफ्नै दल रिपब्लिकनको समेत आलोचना सामना गर्नुपरेको छ । उनीहरूले यो घटना अमेरिकी विदेश नीतिका लागि एक खराब दिन रहेको उल्लेख गर्दै अमेरिका युक्रेनको स्वतन्त्रताको पक्षमा उभिएको स्पष्ट पार्नुपर्ने धारणा राखेका छन् । विपक्षी डेमोक्रेटिक सांसदहरूले पनि ट्रम्प र भान्सले आफ्नो अपमानजनक व्यवहारप्रति जेलेन्स्कीसँग माफी माग्नुपर्ने माग गरेका छन् ।
यता, युक्रेनी सञ्चारमाध्यमले सम्पादकीय मार्फत् ट्रम्पले गरेको अपमान जेलेन्स्कीलाई नभई आफ्नो मुलुकका राष्ट्रपतिमाथि भएको जनाएका छन् । युक्रेनको विपक्षी दलसमेत आफ्ना राष्ट्रपतिमाथि अमेरिकामा भएको अपमानविरुद्ध एकजुट भएको छ । तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नुपर्ने बताउनुभएको छ ।
वार्ताका क्रममा जेलेन्स्कीले विरोध जनाउनु आवश्यक नरहको उहाँको भनाइ छ । तर, यो घटनाले अमेरिका र युरोपबीच स्पष्ट रूपमा दूरी झन् बढाएको छ, जसको असर अमेरिका र युरोपको संयुक्त सैन्य गठबन्धन–नेटोमा समेत पर्ने आकलन भइरहेको छ ।