युक्रेनलाई सुरक्षा प्रत्याभूति दिलाउने कुरा यूरोपको जिम्माको विषय हो : राष्ट्रपति ट्रम्प

फाल्गुन १५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनलाई सुरक्षा प्रत्याभूति दिलाउने कुरा यूरोपको जिम्माको विषय हो : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युक्रेनलाई सुरक्षा प्रत्याभूति प्रदान गर्ने कुरा यूरोपको जिम्माको विषय भएको र यसमा वासिंगटनको संलग्नताको कुनै ग्यारेन्टी नहुने बताउनु भएको छ ।

सत्ता सम्हालेयताको पहिलो मन्त्रिपरिषद्‍ बैठकमा ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो । बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग भेटनु केही घण्टा अघि आएको ट्रम्पको यस्तो भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यता ट्रम्पसँग भेटनुअघि बेलायती प्रधानमन्त्री स्टार्मरले भने युद्ध अन्त्यसम्बन्धी कुनै सम्झौता भएको अवस्थामा रुसले पुन: आक्रमण नगरोस् भन्नका लागि अमेरिकाले युक्रेनलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग दोहोर्याउनु भएको छ । स्टार्मर वासिङ्गटन पुगिसक्नु भएकोछ भने उहाँले आज ट्रम्पलाई हृवाइट हाउसमा भेटने कार्यक्रम छ ।

मन्त्रिपरिषदको बैठकमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खनिज उत्खननसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न शुक्रबार हृवाईट हाउस आउने पुष्टिसमेत गर्नुभएको थियो । जेलेन्स्कीले भने अमेरिकासँग प्रारम्भिक सहमति मात्र भएको र आफूले यसमा रुसी आक्रमणविरुद्धको सुरक्षा प्रत्याभूतिको कुरा थप्ने विषयमा ट्रम्पसँग प्रष्ट कुराकानी गर्ने बताउनु भएको छ । साथै उहाँले सुरक्षा प्रत्याभूति नभएको अवस्थामा रुससँग युद्धविराम हुन नसक्ने समेत स्पष्ट पार्नुभएको छ ।

युक्रेनको दुर्लभ खनिजसम्म अमेरिकालाई पहुँच दिनेसम्बन्धी सम्झौतामा जेलेन्स्कीले शुक्रबार ह्वाइटहाउसमा हस्ताक्षर गर्ने बताइए पनि उक्त सम्झौताका विस्तृत प्रावधानहरू सार्वजनिक गरिएको छैन ।

अमेरिका, बेलायत र यूरोपेली देशहरु युक्रेनको सुरक्षा प्रत्याभूतिका सम्बन्धमा बहसमा व्यस्त रहँदा पूर्वी युक्रेनमा रुसी र युक्रेनी सेनाबीच भिषण भिडन्त भइरहेको जनाइएको छ । उता उत्तर कोरियाले युक्रेनसँग सीमा जोडिएको रुसको कुर्स्क क्षेत्रमा रुसका तर्फबाट लड्न आफ्ना थप सैनिक त्यहाँ परिचालन गरेको दक्षिण कोरियाले जनाएको छ ।

यसअघि गत सेप्टेम्बर-अक्टोबरतिर उत्तर कोरियाले करिब १२ हजार सैनिक रुसको सहयोगार्थ कुर्स्क क्षेत्रमा परिचालन गरेको जनाइएको थियो ।



Enter Kantipur TV HD
Advertisement