दिल्ली विधानसभामा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित, भाजपा बहुमततर्फ

माघ २६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
दिल्ली विधानसभामा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित, भाजपा बहुमततर्फ

काठमाडौं । भारतको दिल्ली विधानसभा निर्वाचनमा पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाल पराजित हुनु भएको छ । विधानसभाको नयाँदिल्ली क्षेत्रबाट उम्मेदवार बनेका केजरीवाल भारतीय जनता पार्टीका परवेश वर्मासँग पराजित हुनु भएको हो ।

चुनावको मतगणना जारी रहँदा आपका अर्का नेता एवं पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि पराजित हुनुभएको छ । तर, वर्तमान मुख्यमन्त्री आतिशी मार्लेना भने विजयी हुनु भएको छ । अघिल्ला दुई निर्वाचनमा बहुमत ल्याएको आपलाई यसपटक भाजपाले चुनौती दिइरहेको छ । 

७० सिट रहेको विधानसभामा बहुमतका लागि ३६ सिट आवश्यक पर्छ । अहिलेसम्म भाजपाले ४८ सिटमा अग्रता लिइरहेको हिन्दूस्तान टाइम्सले जनाएको छ । यस्तै, आपले २२ स्थानमा अग्रता लिइरहँदा कंग्रेस आईले कुनै पनि स्थानमा अग्रता लिएको छैन । एक्जिट पोलले समेत दिल्लीमा भाजपाले २७ वर्षपछि बहुमत ल्याउने र आपले बहुमत गुमाउने आँकलन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लोकसभाका लागि केजरीवाल नेतृत्वको आम आदमी पार्टी र कंग्रेस एउटै गठबन्धनमा रहे पनि विधानसभा निर्वाचनका लागि दुवै दल एक्ला-एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए । 

यसअघि आपले दिल्ली विधानसभामा सन् २०१५ र २०२० गरी दुई पटक एकल बहुमत ल्याएको थियो । सन् २०२० मा ८ सिटमा सीमित भएको भाजपा अहिलेको निर्वाचनमा भने बहुमततर्फ बढिरहेको छ । यस्तै, दिल्लीमा १० वर्षदेखि सिटविहीन रहेको कंग्रेसले यस वर्ष पनि कुनै स्थानमा अग्रता लिन सकेको छैन ।



Enter Kantipur TV HD
Advertisement