काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी र नेपाली सेनाका केही अधिकृतमा आफ्नो स्वार्थका लागि विरोधीसँग साँठगाँठ गर्ने अशोभनीय प्रवृत्ति रहेको आरोप लगाउनु भएको छ ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित 'द ब्लु प्याभिलियन' भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको सुरक्षाका लागि लडिरहँदा प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतले आफ्नो दुनो सोझ्याउन विरोधीसँग साँठगाँठ गर्ने गरेको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्यमा आधारित न्यायसङ्गत अनुसन्धान गर्न पनि नेपाल प्रहरीलाई आग्रह गर्नुभयो। प्रहरी ठीक ढंगले चले सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने भन्दै उहाँले त्रसित नभई न्याय स्थापनामा दृढ भएर काम गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले तस्कर, भ्रष्ट र ठगहरूमाथि अनुसन्धान गर्दा उल्टै उनीहरूका हप्की सुन्नुपर्ने अहिलेको प्रवृत्तिबाट प्रभावित नभई निर्धक्क काम गर्नसमेत प्रहरीलाई आग्रह गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन संशोधनका लागि विधेयक संसदमा पेस भएको भन्दै त्यसमा आउने रचनात्मक सुझावलाई समावेश गरेर छिटो पारित गर्ने आश्वासन दिनुभयो ।
२०७७ जेठ ११ गते शिलान्यास भएको प्याभिलियन भवन ७५ करोड ८७ लाखमा निर्माण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।