खानेपानी मन्त्रालयमा भएको आगलागीको क्षति मूल्यांकन गर्न ३ सदस्यीय समिति गठन

माघ २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
खानेपानी मन्त्रालयमा भएको आगलागीको क्षति मूल्यांकन गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज बिहान भएको आगलागीको क्षति मूल्यांकन गर्न समिति गठन गरिएको छ ।

सहरी विकास मन्त्रालयले आगलागीको क्षति मूल्यांकन गर्न सिनियर डिभिजन इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा खानेपानी मन्त्रालयका उपसचिव र इन्जिनियर गणेश पाण्डे सदस्य रहेका छन् । समितिले घटनाको क्षति मूल्यांकन गर्नेछ भने सिंहदरबारमा परिसरमा यस्ता घटना दोहोरिन नदिन र त्यसको पूर्वतयारीका उपाय सुझाउन कार्यादेश दिइएको छ । समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

आज बिहान मन्त्रालयको चौथो तल्लामा रहेको मन्त्री प्रदीप यादवको कार्यकक्ष तथा यादवको सचिवालयमा आगलागी भएको हो । बिजुली सर्ट भइ आगो लागेको हुनसक्ने सिंहदरबार प्रहरी वृत्तले जनाएको छ । प्रहरीले दमकलको सहायतामा तत्कालै आगो निभाएको थियो ।

आगलागी हुँदा पर्दा, कार्पेट, टेबल तथा कुर्सीहरू समेत जलेका छन् भने महत्वपूर्ण कागजातसमेत जलेको आशंका गरिएको छ । घटनाको अनुसन्धानका लागि मन्त्रालयका दुई कर्मचारीसँग प्रहरीले सोधपुछ गरेको थियो । आगो लागेलगत्तै खानेपानीमन्त्री यादव र सहरी विकासमन्त्री प्रकाशमान सिंह सिंहदरबार पुग्नु भएको थियो ।

मन्त्री यादवले दुई दिनदेखि जलेको गन्ध आएका कारण विद्युत सर्ट भएको आशंका गरिएको बताउनुभयो । तर, महत्वपूर्ण कागजात भने नजलेको उहाँको दाबी छ । सहरी विकासमन्त्री सिंहले यस्ता विपद्का घटना हुन नदिन आगामी दिनमा आवश्यक पूर्वसावधानी अपनाइने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement