अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री इसिबाबीच ह्वाइट हाउसमा वार्ता

माघ २६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री इसिबाबीच ह्वाइट हाउसमा वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिगेरु इसिबाबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । ट्रम्पले दोस्रो पटक ह्वाइट हाउसमा पुनरागमन गरेपछि जापानी प्रधानमन्त्री इसिबा अमेरिका पुग्ने दोस्रो विदेशी नेता बन्नुभएको हो ।

इसिबाले ट्रम्पसँग स्टिल उत्पादन, रक्षा सहकार्यलगायत विभिन्न क्षेत्रमा सहयोगबारे छलफल गर्नुभएको बताइएको छ ।

इसिबालाई स्वागत गर्दै ट्रम्पले दुई देशबीच अर्बौं डलरको लगानी उत्साहजनक रहेको बताउनुभयो । वार्ता दुवै देशको साझा सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताइएको छ ।

यसै हप्ता अमेरिकी प्रशासनले टोकियोलाई लगभग एक अर्ब डलरको विदेशी सैन्य सामाग्री बिक्रीलाई अनुमोदन गरेकोमा आफू खुशी रहेको ट्रम्पको भनाइ छ ।

त्यस्तै, जापानी कम्पनीले अमेरिकी व्यवसायमा गर्दै आएको लगानीलाई बढाएर १ खर्ब पुर्‍याउने घोषणा इसिबाले गर्नुभएको छ ।

इसिबाले जापानद्वारा गरिने लगानीलाई पारस्परिक रूपमा लाभदायक हुने स्पष्ट पार्दै अमेरिकी स्टिल कम्पनीलाई जापानी प्रविधि प्रदान गरिने बताउनुभएको छ ।

यसैबीच, विवादित साउथ चाइना सीमा चीनले गरिरहेको गतिविधिप्रति दुवै नेताले कडा निन्दासमेत गरेका छन् ।

अमेरिका–जापान द्विपक्षीय र सैन्य सहयोग सबैभन्दा नजिकको साझेदारी मध्ये एक हो । साथै, जापान अमेरिकी सैन्य उपकरणहरूको शीर्ष खरिदकर्ता पनि हो ।



Enter Kantipur TV HD
Advertisement