गाजा नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई सार्ने ट्रम्पको घोषणाको चौतर्फी आलोचना

गाजा नछाड्ने प्यालेस्टिनीको अडान
मध्यपूर्वमा फेरि अस्थिरताको आशंका
माघ २४, २०८१ |हरहरि उपाध्याय
गाजा नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई सार्ने ट्रम्पको घोषणाको चौतर्फी आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इजरायली आक्रमणबाट ध्वस्तप्रायः बनेको गाजापट्टीलाई अमेरिकाले आफ्नो कब्जामा लिने र त्यसलाई मध्यपूर्वको समुद्रतटीय बिदा मनाउने स्थल ‘रिभिएरा’मा रूपान्तरण गर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको छ । गाजापट्टीमाथिको स्वामित्वलाई सुनिश्चित गर्न त्यहाँ अमेरिकी सेना पठाउने सम्भावनालाई समेत उहाँले नकार्नुभएको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ह्वाइट हाउसमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले दिएको अभिव्यक्तिले गाजाका प्यालेस्टिनी वा हमासलाई मात्र नभई विश्व समुदायलाई नै झस्काएको छ । यसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

ट्रम्पको यो भनाइ दुई राज्य समाधान अर्थात् इजरायल र प्यालेस्टाइन दुई बेग्लाबेग्लै सार्वभौम र स्वतन्त्र राज्य हुनुपर्ने दशकौं लामो अमेरिकी नीतिको विपरीत मात्र छैन, मध्यपूर्वमा प्रत्यक्ष अमेरिकी हस्तक्षेपको सम्भावनालाई पनि बढाएको छ । ट्रम्पले गाजामा अमेरिकाको लामो समयका लागि स्वामित्व स्थापना गर्ने र गाजाका करिब १८ लाख प्यालेस्टिनीलाई जोर्डन, इजिप्ट तथा अन्य अरब मुलुकमा स्थायी रूपमा पुनःस्थापना गर्ने योजना अघि सार्नुभएको हो ।

पुनःनिर्माण भइसकेपछि केही प्यालेस्टिनी सहित विश्वका जुनसुकै देशका मानिस पनि त्यहाँ बस्न पाउने र त्यो ठाउँ रोजगार र अन्य अवसरले भरिपूर्ण स्थान बन्ने ट्रम्पको भनाइ छ । तर यसबाट दशकौंदेखि त्यहाँ बस्दै आएका अधिकांश प्यालेस्टिनीहरू भने त्यहाँबाट पलायन हुनेछन् । ट्रम्पको यो भनाइको विश्वस्तरमै व्यापक विरोध भएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले ट्रम्पको योजनालाई ‘वाहियात’ भनेको छ ।

प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बासले गाजा प्यालेस्टाइन राज्यको अविभाज्य अंग भएको र प्यालेस्टिनीलाई उनीहरूको गृहभूमिबाट विस्थापित गर्न पाइँदैन भन्दै ट्रम्पको प्रस्तावलाई कठोर शब्दमा अस्वीकृत गर्नुभएको छ । गाजाका सर्वसाधारणले ‘यो हाम्रो भूमि हो’ भन्दै ट्रम्पको भनाइप्रति आपत्ति जनाएका छन् । अरब देशहरूले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनै पनि योजना स्वीकार नभएको बताएका छन् ।

साउदी अरबले प्यालेस्टिनी राज्यप्रतिको आफ्नो अविचलित समर्थन दोहोर्‍याउँदै प्यालेस्टिनी राज्य गठनको प्रत्याभूतिबिना इजरायलसँग सम्बन्ध सामान्यीकरण नगर्ने बताएको छ । इजिप्टले प्यालेस्टाइनका बासिन्दालाई नहटाइकनै गाजाको पुनःविकास गरिनुपर्ने बताएको छ ।

अमेरिकी गठबन्धनको देश बेलायतले समेत प्यालेस्टिनीहरू आफनै भूमिमा बस्न र समृद्ध हुनुपर्ने भन्दै ट्रम्पको भनाइप्रति असहमति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले दुई राज्य समाधानप्रति आफ्नो समर्थन पुन दोहोर्‍याउँदै प्यालेस्टिनी नागरिकलाई बलपूर्वक अन्यत्र सार्ने कुराको विपक्षमा रहेको स्पष्ट पारेको छ ।

टर्कीले ट्रम्पको प्रस्तावलाई अस्वीकार्य भनेको छ भने फ्रान्सले गाजावासीलाई बलपूर्वक प्रतिस्थापन गर्ने कार्य अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन हुने र यसले मध्यपूर्वलाई अस्थिर बनाउने जोखिम बढाउने टिप्पणी गरेको छ । रूस, जर्मनी, स्पेन, आयरल्यान्ड, अस्ट्रेलिया लगायतका देशले पनि दुई राज्य समाधानप्रति आफ्नो समर्थन निरन्तर जारी रहने बताएका छन् ।

अमेरिकाभित्रै पनि ट्रम्पको भनाइप्रति दुईथरी प्रतिक्रिया आएका छन् । ट्रम्पका समर्थकहरूले यसलाई ‘गाजालाई पुनः सुन्दर बनाऔं’ (मेक गाजा ब्युटिफुल अगेन) भन्दै उनको योजनाप्रति समर्थन व्यक्त गरेका छन् । विपक्षी डेमोक्र्याटहरूले यसलाई जातीय सफायाको आह्वान भन्दै आलोचना गरेका छन् ।

१५ महिने युद्धमा भग्नावशेषमा परिणत भएको गाजाको करिब ६० प्रतिशत भवन ध्वस्त भएका छन् भने करिब २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत मानिस विस्थापित भएका छन् । गाजाको पुनःनिर्माणका लागि दशकौंको समय लाग्ने अनुमान गरिएको छ ।

- एजेन्सीहरूको सहयोगमा


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।