काठमाडौं । डनल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । यससँगै ट्रम्पको दोस्रो कार्यकालको सुरूआत भएको छ ।
उहाँलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराउनुभएको हो । यसअघि उहाँले सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएको थियो ।
यस्तै उपराष्ट्रपति जेडी भ्यान्सले समेत पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ट्रम्पको शपथ ग्रहण समरोहमा स्वदेश तथा विश्वका नेताहरूको उपस्थिति थियो । शपथपछि ट्रम्पले २० जनवरीलाई मुक्ति दिवसको रूपमा घोषणा समेत गर्नुभयो । उहाँले अमेरिकाको पतनको बाटो समाप्त भएको पनि दाबी गर्नुभएको छ ।
ट्रम्पले थुप्रै कार्यकारी आदेशमा हस्ताक्षर पनि गर्नुभएको छ । जसमा पेरिस जलवायु सम्झौतादेखि अभिव्यक्ति स्वतन्त्रतालाई कार्यान्वयनमा ल्याउन संघीय सरकारलाई निर्देशन दिने आदेश छन् । ट्रम्पले अमेरिकामा मृत्युदण्डलाई पुनर्बहाली गर्ने बताइएको छ । निष्पक्ष न्याय सुनिश्चित गर्ने कार्यकारी आदेशमा समेत ट्रम्पले हस्ताक्षर गर्नुभएको छ । यस्तै सबै प्रकारका सेन्सरशिप अन्त्य, अमेरिकाको सार्वभौमिकता कायम राख्ने विषयमा समेत उहाँले कार्यकारी आदेश जारी गर्नुभएको छ ।
यस्तै बाइडनका करिब ७८ वटा कार्यकारी आदेशलाई ट्रम्पले खारेज गरिदिनुभएको छ । महँगीलाई समाप्त गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिने सम्बन्धी आदेशमा समेत ट्रमपले हस्ताक्षर गर्नुभएको छ । अमेरिकी इतिहासमै अहिलेसम्मकै कडा निर्वासन कारबाही गर्ने प्रतिबद्धता समेत ट्रम्पले जनाउनुभएको छ ।
यस्तै, रूस-युक्रेन युद्ध अन्त्य गर्ने र इजरायल र हमासबीचको युद्धविरामलाई स्थायी शान्तिमा बदल्ने उहाँको भनाइ छ । ट्रम्पले मेक्सिको खाडीको नाम परिवर्तन गरी अमेरिकी खाडी राखिने पनि बताउनुभयो ।
यस्तै मेक्सिकोको सिमानामा पर्खाल बनाइने, पनामा क्यानललाई फिर्ता लिइने, लागूऔषध कारोबारीलाई आतंककारी घोषणा गरिने र घरेलु तेल उत्पादन बढाइने ट्रम्पको भनाइ छ ।
यस्तै ट्रम्पले राष्ट्रिय ऊर्जा आपत्कालको घोषणा पनि गर्नुभएको छ । शुल्क संकलन गर्न सरकारी एकाइ गठन, विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने योजना रद्द, अमेरिकी सेनालाई अरूको युद्ध लड्न नपठाउने, योग्यलाई प्राथमिकता दिइने, दक्षता विभागको सल्लाहकार समितिको गठन र तेस्रो लिङ्गीलाई उन्मूलन गर्ने घोषणा समेत गर्नुभएको छ ।
ट्रम्पको पुनरागमनमा बाइडनले बधाई दिँदै उहाँलाई ह्वाइट हाउसमा स्वागत गर्नुभएको थियो ।
- एजेन्सीहरूको सहयोगमा