दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनद्वारा संवैधानिक अदालतको निर्णय स्वीकार गर्ने प्रतिबद्धता

आफ्नो मुद्दाको बहसमा उपस्थित हुन इच्छुक
पुस २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनद्वारा संवैधानिक अदालतको निर्णय स्वीकार गर्ने प्रतिबद्धता

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले संवैधानिक अदालतको निर्णय स्वीकार गर्ने बताउनु भएको छ । अदालतले अहिले निलम्बित राष्ट्रपति युनविरुद्धको महाअभियोग मुद्दाको सुनुवाइ गरिरहेको छ ।

निलम्बित राष्ट्रपति युनका वकिल युन काब–केउनले आज पत्रकार सम्मेलन गरी युनले अदालतको निर्णय स्वीकार गर्ने जानकारी दिनुभएको हो । निलम्बित राष्ट्रपति युनले गत डिसेम्बर २७ मा अदालतको सुनुवाइ सुरु हुनुअघि कानुनी विवरण पेस गर्ने अदालतको अनुरोधलाई अस्वीकार गर्नुभएको थियो । तर, उहाँले आफ्नो मुद्दाको बहसमा उपस्थित हुने इच्छा व्यक्त गरेको जनाइएको छ ।

यस्तै युनमाथि डिसेम्बर ३ मा सैन्य कानुनको घोषणासँगै विद्रोहको योजना बनाएको आरोपमा छुट्टै फौजदारी अनुसन्धान भइरहेको छ । राष्ट्रपतिका सुरक्षा गार्डले गत हप्ता युनलाई पक्राउ गर्ने प्रयासको प्रतिरोध गरेका थिए । तर अदालतले उहाँविरुद्ध पुनः नयाँ पक्राउ पुर्जी जारी गरिसकेको छ । एक शीर्ष अनुसन्धानकर्ताले सुरक्षा नाकाबन्दी तोड्न र युनलाई पक्राउ गर्न जे पनि गर्ने वाचा गर्नुभएको छ ।

युनका अर्का वकिल सिओक डोङ–ह्योनले निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयासलाई राजनीतिक रूपमा प्रेरित र हथकडी लगाएर सार्वजनिक रूपमा अपमानित गर्ने उद्देश्यले कदम चालिएको बताउनुभएको छ । डिसेम्बर ३ सैन्य कानुन घोषणापछि दक्षिण कोरियामा राजनीतिक अस्थिरता कायमै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement