काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले पनामा क्यानल र ग्रीनल्याण्ड टापु अमेरिकी नियन्त्रणमा लिने चाहनालाई पुनः दोहोर्याउनुभएको छ ।
राष्ट्रपति पदमा निर्वाचित भएयता नै ट्रम्पले राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यधिक महत्वपूर्ण रहेकाले यी दुवै क्षेत्र अमेरिका नियन्त्रणमा हुनुपर्ने विवादास्पद अभिव्यक्ति दिँदै आउनु भएको छ ।
मंगलवार आफ्नै निवास मार अ लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यी दुवै क्षेत्रमा नियन्त्रणका लागि सैन्य वा आर्थिक बल प्रयोगको सम्भावनालाई नकार्नु भएन । डेनमार्क वा पनामा दुवैले आफ्नो भूभाग अमेरिकालाई सुम्पिने कुनै पनि सम्भावनालाई अस्वीकृत गरिसकेका छन् । यसैगरी ट्रम्पले क्यानडालाई अमेरिकामा गाभ्न आर्थिक बलको प्रयोग गर्ने दाबीसमेत गर्नुभएको छ ।
पनामा एटलान्टिक र प्रशान्त महासागरलाई आपसमा जोड्ने नहर हो । जसको निर्माण अमेरिकाले नै गरेको थियो र उसले यसको स्वामित्व सन् १९९९मा पनामालाई सुम्पिएको थियो । यो नहरको प्रवेशद्वारमा रहेका दुई वटा बन्दरगाहको प्रबन्धन हङकङस्थित सीके हचिसन होल्डिङ्सले गर्दै आएको छ । चिनियाँ सेनाले अवैधरुपमा पनामा क्यानलको सञ्चालन गर्दै आएको आरोप ट्रम्पले लगाउँदै आउनुभएको छ । वैश्विक समुद्री व्यापारको करीब साढे दुई प्रतिशत व्यापार पनामा क्यानल मार्फत् हुने गर्दछ भने एशियाबाट मालसामान आयातका लागि अमेरिकाका लागि यो क्यानल महत्वपूर्ण मानिन्छ ।
ग्रीनल्याण्ड आर्कटिक र एटलान्टिक महासागरको बीचमा अवस्थित टापु हो । यो कुनै स्वतन्त्र देश नभई डेनमार्कको स्वायत्त क्षेत्र हो । ग्रीनल्याण्ड उत्तरी अमेरिकाबाट यूरोप जाने सबैभन्दा छोटो जलमार्गमा अवस्थित र रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिएको टापु हो । अमेरिकी सेनाले यो टापुमा रहेर सो क्षेत्र वरपर रहेका चिनियाँ तथा रुसी जहाजमाथि राम्रो निगरानी राख्न सक्ने ट्रम्पको भनाई छ । यो टापुको ८० प्रतिशतभागमा वर्षभरी नै करिब चार किलोमिटर मोटो हिउं जमी राख्छ भने यहाँ ब्याटरी र हाइटेक यन्त्र निर्माणमा प्रयोग हुने दुर्लभ खनिजको ठूलो भण्डार रहेको मानिन्छ ।
यसैबीच ट्रम्पका छोरा ट्रम्प जुनियर ग्रीनल्याण्डको भ्रमणमा पुग्नु भएको छ ।