धनुषा ।
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज ४ बजेसम्मको समयसीमा तोकिएको छ । लोसपाको नेतृत्वमा सरकार बनाउन कांग्रेस एमालेबाहेकका पाँच दल सहमत भएसँगै जीतेन्द्र सोनल दावी पेश गर्न जाँदै हुनुहुन्छ ।
जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको हो ।
हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएपनि मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन भने बाँकी रहेको बताइएको छ ।
जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले आज असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । आह्वान अनुसार पाँच दलका नेताहरु ५६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न जाँदैछन् ।
१ सय ७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सिट आवश्यक छ । मधेशमा एमालेको २५, कांग्रेसको २२ सिट छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट छ ।