'हस मनी'को मुद्दामा दोषी ठहर भएका ट्रम्पलाई जनवरी १० मा सजाय सुनाइने

जेल या जरिवाना नगर्ने न्यूयोर्कका न्यायाधीशको संकेत
पुस २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 'हस मनी'को मुद्दामा दोषी ठहर भएका ट्रम्पलाई जनवरी १० मा सजाय सुनाइने

काठमाडौं । सन् २०१६ को चुनावमा 'हस मनी' अर्थात् रकम दिएर आपराधिक घटना लुकाउन गरेको प्रयासमा दोषी ठहर हुनुभएका अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पलाई यही जनवरी १० मा सजाय सुनाइने भएको छ ।

न्युयोर्क अदालतका न्यायाधीश जुआन मर्चनले जनवरी १० मा सजाय सुनाउने भन्दै लिखित आदेश जारी गर्नु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिमा दोस्रो कार्यकाल सुरु गर्नु १० दिनअघि उहाँलाई सजाय सुनाइने भएको हो । तर, न्यायाधीश मर्चनले ट्रम्पलाई जेल या जरिवाना केही पनि नगर्ने र विना सर्त रिहाइ गर्ने संकेत गर्नु भएको बीबीसीले जनाएको छ । सुनुवाइका लागि ट्रम्प भौतिक रुपमा उपस्थित हुन या भर्चुअल रुपमा उपस्थित हुनसक्ने न्यायाधीश मर्चनले जारी गरेको आदेशमा उल्लेख छ ।

सन् २०१६ को चुनावमा वयस्क चलचित्रकी एक अभिनेत्रीसँगको सम्बन्ध लुकाउन ट्रम्पले नक्कली कागजात तयार पारेको विषयमा ३४ मुद्दा परेका थिए । सोही मुद्दामा ट्रम्प दोषी ठहर हुनु भएको हो । गत नोभेम्बर २६ मै उहाँमाथिको मुद्दामा सुनुवाइ हुने तय भएको थियो । तर ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि न्यायाधीश मर्चनले मिति पछि सार्नुभएको हो ।

गत वर्ष जुलाई १ मा अमेरिकाको सर्वोच्च अदालतले कुनै पनि राष्ट्रपति वा पूर्वराष्ट्रपतिले आफ्नो कार्यकालका बेला गरेको गतिविधिमाथि लगाइएको मुद्दामा स्वतः छुट हुने आदेश जारी गरेको थियो । सोही आधारलाई टेकेर ट्रम्पले राष्ट्रपति चुनाव जित्नुभएका कारण उक्त मुद्दा खारेज गर्न उहाँका वकिलले अपिल गरेका थिए । तर, न्यायाधीश मर्चनले ट्रम्पको अपिललाई खारेज गरी सजाय सुनाउने मिति तोक्नुभएको हो। अमेरिकी इतिहासमा शपथ लिनुअघि सजाय भोग्ने ट्रम्प पहिलो राष्ट्रपति बन्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement