गाजाका अस्पताललक्षित इजरायली आक्रमणमा कम्तीमा ७३ जनाको मृत्यु

नरसंहारको मनसाय भन्दै एम्नेस्टी इन्टरनेसनलको कडा आपत्ति
पुस २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजाका अस्पताललक्षित इजरायली आक्रमणमा कम्तीमा ७३ जनाको मृत्यु

काठमाडौं । इजरायलले गाजाका विभिन्न क्षेत्रमा अस्पताल लक्षित आक्रमण गर्दा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । गाजाका स्वास्थ्य अधिकारीहरुले इजरायलले गरेको पछिल्लो आक्रमणमा ७३ जनाको मृत्यु भएको र कयौं घाइते भएको जनाएका छन् । यस्तै इजरायलले कमल अदवान अस्पतालका निर्देशक डा. हुसम अबु सफियालाई नजरबन्द गरेर राखेको छ ।

एम्नेस्टी इन्टरनेसनलले कमल अदवानका निर्देशकलाई इजरायलले गरेको नजरबन्दप्रति आपत्ति जनाएको छ । उसले इजरायली कदमलाई गाजाको स्वास्थ्य सेवा क्षेत्रलाई ‘विनाश’ गर्ने प्रयास भनेको छ । पछिल्लो समय इजरायली सेनाले गाजाको विभिन्न क्षेत्रमा रहेका अस्पतालमा आक्रमण गरिरहेको छ । यस विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक आह्वान गरिएको थियो ।

बैठकमा मानव अधिकारका लागि राष्ट्रसंघका हाई कमिश्नर भोल्कर टुर्कले इजरायली सेनाले विगत आठ महिनामा २७ वटा अस्पताल र १२ वटा मेडिकल फेसिलिटिमा करिब १ सय ३६ पटक छापा र आक्रमण गरेको बताउनुभएको छ । हमासले अस्पताललाई ढालको रुपमा प्रयोग गरिरहेको इजरायलले आरोप लगाए पनि उसले कुनै प्रमाण दिन नसकेको भन्दै उहाँले आलोचना गर्नुभएको बताइएको छ ।

यसैबीच कतारको दोहामा गाजा युद्ध विरामका मध्यस्थकर्ताहरु पुगेका छन् । तर, प्यालेस्टिनी लडाकु समूह हमासले प्यालेस्टाइनबाट इजरायली सेनाको फिर्ती र पूर्ण युद्धविराम गर्ने आफ्नो अडानलाई दोहोर्‍याएको छ । हमासका उच्च अधिकारी कासिम नइमले आफ्नो समूह युद्धविराम गर्न गम्भीर रहेको बताउनुभएको छ ।

यस्तै गाजमा इजरायलको आक्रमण जारी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडन आफ्नो कार्यकाल समाप्त हुनुअघि इजरायललाई ८ अर्ब डलर बराबरको हात हतियार बिक्री गर्ने अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ । हतियार बिक्री गर्न बाइडलाई अमेरिकी कंग्रेसको स्वीकृति चाहिन्छ । त्यसका लागि बाइडनले कंग्रेसलाई सूचितसमेत गरिसकेको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement