भेनेजुएलाका विपक्षी नेता गोन्जालेजबारे जानकारी दिने व्यक्तिलाई एक लाख अमेरिकी डलर पुरस्कार

पुस २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
भेनेजुएलाका विपक्षी नेता गोन्जालेजबारे जानकारी दिने व्यक्तिलाई एक लाख अमेरिकी डलर पुरस्कार

काठमाडौं । भेनेजुएला सरकारले राष्ट्रपतिका उम्मेदवार तथा विपक्षी नेता एडमन्डो गोन्जालेजलाई पक्राउ गर्न जानकारी दिने व्यक्तिलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । भेनेजुएला सरकारले उपहार स्वरुप एक लाख डलर दिने भन्दै ‘ला गुएरा’ विमानस्थलमा बोर्ड नै राखेको छ ।

राष्ट्रपति चुनावका बेला विवाद चुलिएपछि विपक्षी नेता गोन्जालेज भेनेजुएलाबाट पलायन भएर स्पेनमा शरण लिइरहनुभएको छ । विपक्षी नेता गोन्जालेजले गत बिहीबार अर्जेन्टिनाको यात्रा गर्ने बताएपछि भेनेजुएलाको प्रहरी अनुसन्धान इकाइले उहाँको तस्वीरसहित जानकारी दिनेलाई एक लाख अमेरिकी डलर दिने उपहार स्वरुप दिने भन्दै ‘ला गुएरा’ विमानस्थलमा बोर्ड राखेको हो ।

गत वर्षको जुलाईमा भएको राष्ट्रपतीय चुनावमा आफूले जित हासिल गरेको विपक्षी नेता गोन्जालेजले दाबी गर्दै आउनुभएको थियो । तर, त्यहाँका निर्वाचन कार्यालय र सर्वोच्च अदालतले निकोलस मदुरो नै चुनावमा विजयी भएको स्पष्ट पारेपछि विवाद चुलिएको हो ।

राष्ट्रपतिमा तेस्रो पटक मदुरो निर्वाचित भएपछि विपक्षी नेताको दाबीलाई लिएर उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसपछि उहाँ भेनेजुएलाको राजधानी काराकसस्थित स्पेनी दूतावासमा शरण लिइरहनुभएको थियो भने त्यहीबाट उहाँले स्पेन सरकारसँग शरण माग्नुभएको थियो ।

स्पेनले शरण दिन स्वीकार गरेपछि उहाँ तत्काल स्पेन पुग्नुभएको थियो । उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरिए पनि स्पेन पुगेलगत्तै भेनेजुएलाको लोकतन्त्रको निम्ति आफू पुन: भेनेजुएला फर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यस्तै तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित मदुरोको शपथ ग्रहण समारोह भने यही जनवरी १० हुनेछ । योजनाबद्ध तरिकाले यही समयमा विपक्षी नेता गोन्जालेज भने अन्तर्राष्ट्रिय भ्रमणमा निस्किने बताएपछि प्रहरी अनुसन्धान इकाइले यस्तो कदम चालेको हो ।

राष्ट्रपतिमा मदुरोको विवादास्पद जितपछि भेनेजुएलाको विपक्षी दल, पश्चिमा राष्ट्र र केही अन्तर्राष्ट्रिय संस्थाहरूले चुनावलाई अपारदर्शी भनेर आलोचना गरेका थिए । यस्तै अमेरिकाले भने मदुरोको जितलाई मान्यता नदिने भन्दै स्पष्ट पारिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement