काठमाडौं । राजनीतिलाई भावनात्मक कोणबाट हेर्दा हिजोका दिनमा दुर्घटना भएको स्वीकार गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रथम उपाध्यक्ष राजकिशोर यादवले अब मधेशको राजनीतिलाई पुनःपरिभाषित गर्ने बताउनुभएको छ । उत्पीडित समुदायबाट र आन्दोलनबाट उदाएका शक्तिहरूमा भावनात्मक पक्ष हाबी हुँदा मधेशको राजनीतिले गलत दिशा लिएको उहाँले बताउनुभएको हो ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा कुरा गर्दै उपाध्यक्ष यादवले मधेशका राजनीतिक नेतृत्वले पनि आत्मसमीक्षा गर्दै आफूहरूबाट भुल भएको स्वीकार गरेको बताउनुभयो । “हिजो हामीबाट भुलचुक भएको हो भन्ने अनुभूति र बुझाइ सबै नेतृत्वमा हामीले पायौं । त्यो आफैंमा ठूलो कुरा हो । अलिकति उत्पीडित समुदाय, अलिकति आन्दोलनबाट आएको शक्तिहरूमा भावनाको भाग बढी हुँदो रहेछ । ‘रियलिस्टिक अप्रोच’भन्दा अलिकति उत्तेजित हुने, भावनामा बग्ने”, उहाँले भन्नुभयो, “राजनीतिलाई जसरी हामीले भावनाको कोणबाट हेर्यौं, त्यसले दुर्घटना गरायो हिजोको दिनमा । त्यसैले अहिले हामी मधेशको राजनीतिलाई एक शब्दमा भन्ने हो भने ‘रि-डिफाइन’ गर्दैछौं, ‘रि-स्ट्रक्चरिङ’ गर्दैछौं ।”
उपाध्यक्ष यादवले आफूहरू लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग पनि छलफल र संवादमा रहेको बताउनुभयो । संविधान संशोधनका विषयमा साझा दृष्टिकोण बनाउन सहकार्य गर्ने उद्देश्यले आफूहरू संवादमा रहेको उहाँले प्रस्ट पार्नुभयो । “हामीले यसमा दुई वटा कुरा गरेका छौं । एउटा त संविधान संशोधनको तयारी भइरहेको छ यसमा ‘प्रोएक्टिभ’ भएर के केमा संशोधन गर्ने भनेर साझा दृष्टिकोण बनाऔं र संविधान संशोधन गर्नका लागि राजनीतिक वातावरण बनाऔं भन्ने मूलतः अहिलेको उद्देश्य हो”, उहाँले भन्नुभयो ।
“एकताको कुनै छनक छैन ?” भन्ने फायरसाइडको प्रश्नमा उहाँले एकता विश्वाससँग जोडिएकाले पहिले आपसी तिक्तताहरू मेटाउने प्रयास भइरहेको बताउनुभयो । “हामी आपसमा यति झगडा गर्यौं कि आपसमा तिक्तताहरू छन्, यसलाई बिस्तारै मेटाउने प्रयास गर्दैछौं”, यादवले भन्नुभयो ।
कार्यक्रम फायरसाइड आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कार्यक्रम कान्तिपुर टेलिभिजनको एप र युट्युब च्यानलमा पनि हेर्न सक्नु हुनेछ ।