‘जेनेरेशन बीटा’ युग सुरू, एआईसँग हुर्कने पुस्ता अरूभन्दा कसरी हुनेछ फरक ?

पुस १७, २०८१ |प्रभात सिंह
‘जेनेरेशन बीटा’ युग सुरू, एआईसँग हुर्कने पुस्ता अरूभन्दा कसरी हुनेछ फरक ?

काठमाडौं । नयाँ वर्ष २०२५ को सुरूआतसँगै नयाँ पुस्ता अर्थात् ‘जेनेरेशन बीटा’को युग सुरू भएको छ । जनवरी १, २०२५ देखि सन् २०३९ सम्म जन्मिने शिशुहरू यो पुस्ताको हिस्सा हुनेछन् ।

उनीहरू अघिल्ला पुस्ताभन्दा कसरी फरक हुनेछन् र कस्ता चुनौतीको सामना गर्नुपर्नेछ त ?

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईसँगै हुर्किने यो पुस्ता प्रविधिमा अझ पोख्त हुनेछ । अघिल्लो पुस्ताले नदेखेका र अनुभव नगरेका धेरै कुरासँगै उनीहरू अघि बढ्नेछन् । आगामी दिनमा मोबाइल र कम्प्युटर सामान्य कुरामा गनिनेछ भने बालबालिकाहरू रोबोट र एआईको संसारमा हुर्किनेछन् ।

महामारीपछिको संसारमा जन्मेको यो पुस्ता अनलाइन र सामाजिक सञ्जालसँगै हुर्किनेछ भने यी बालबालिकाले २२औं शताब्दी पनि हेर्न पाउनेछन् । तर, योसँगै उनीहरूले विश्व तापमान, नवीकरणीय ऊर्जा, बढ्दो प्रदूषण र अन्य धेरै कुराहरूको सामना गर्नुपर्ने हुन सक्छ । यस्तै प्रविधिले फड्को मार्ने संकेतका बीच जेन बीटाको पुस्ता मंगल ग्रहमा बसोबास गर्ने सम्भावनाका बीच हुर्किनेछ । उनीहरू विगतका पुस्ताभन्दा स्मार्ट र परिपक्व हुन सक्ने समेत आकलन गरिएको छ ।

अस्ट्रेलियन अनुसन्धानकर्ताका अनुसार सन् २०३५ सम्म जेन बीटाले विश्वको करिब १६ प्रतिशत जनसंख्याको हिस्सा ओगट्नेछ ।

विभिन्न समयमा जन्मिएका पुस्तालाई परिभाषित गर्न विभिन्न नाम दिइन्छ । उदाहरणका लागि, सन् १९८० देखि १९९४ को बीचमा जन्मिएकालाईं मिलेनियल्स अर्थात् जेन वाई भनिन्छ । यो पुस्ता एनालगबाट डिजिटल युगमा प्रवेश गरेका पुस्ता हुन् । यसपछि जेनेरेशन जी अर्थात् जेन जीको युग आयो। सन् १९९५ देखि २००९ सम्ममा जन्मिएका बालबालिकालाई यो पुस्तामा समावेश गरिएको छ । डिजिटल प्रविधिसँगै हुर्किएको हुनाले यो पुस्तालाई डिजिटल प्रविधिमा माहिर मानिने गरिन्छ । यी दुई पुस्ताको संसार हेर्ने दृष्टिकोण र विचार पनि फरक छ । जहाँ मिलेनियल्सलाई ‘ओल्ड स्कुल’ भनिन्छ भने जेन जीलाई आफ्नै संसारमा रमाउने पुस्ताका रूपमा लिइन्छ ।

यसपछि सन् २०१० देखि २०२४ सम्मका बालबालिकालाई जेन अल्फा भनिन्छ । जेन अल्फा स्मार्टफोन र सामाजिक सञ्जाल, युट्युब, गेमिङलाई आत्मसाथ गरेर चलेका छन् र अब नयाँ वर्षसँगै नयाँ जेनेरेशन बीटाको युग सुरू भएको छ ।

जेन बीटा पुस्ताले एआई र प्रविधिको माध्यमद्वारा विश्वलाई अगाडि बढाउन मद्दत गर्न सक्ने भए पनि उनीहरूको वास्तविक जीवन र समाजसँगको सम्बन्ध भने प्रमुख चुनौती बन्नेछ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।