अमेरिकाका गोप्य कागजात ह्याकरको नियन्त्रणमा

पुस १६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाका गोप्य कागजात ह्याकरको नियन्त्रणमा

काठमाडौं । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि नै अमेरिकाका केही गोप्य कागजात ह्याकरले नियन्त्रणमा लिएको खुलासा भएको छ । चीन समर्थित ह्याकरले यही डिसेम्बर ८ मा अमेरिकी अर्थ मन्त्रालयको कम्प्युटर सिस्टम ह्याक गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी अर्थ मन्त्रालयले सिनेटरहरूलाई पत्र लेखेर यसबारे जानकारी दिएपछि यो विषय सार्वजनिक भएको हो । ह्याकरले मन्त्रालयका गोप्य कागजात र कर्मचारीहरूले गरेका काम समेत नियन्त्रणमा लिएको बताइएको छ । यद्यपि, ह्याकरले अहिलेसम्म कस्ता प्रकारका कागजात प्राप्त गरे भन्नेबारे मन्त्रालयले कुनै जानकारी दिएको छैन । अमेरिकी संघीय अनुसन्धान एजेन्सी एफबीआईले र अन्य एजेन्सीले संयुक्तरूपमा यस विषयमा छानबिन गरिरहेको बताइएको छ ।

यता चीनले भने अमेरिकी आरोपलाई अस्वीकार गरेको छ । वासिङ्टन डीसीस्थित चिनियाँ दूतावासले उक्त आरोप ‘निन्दनीय आक्रमण’ को हिस्सा भएको र ‘कुनै तथ्यविना’ चीनमाथि आरोप लगाउने कदमको कडा विरोध गरेको जनाएको छ ।



Enter Kantipur TV HD
Advertisement