‘बैंकको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाब’

पुस १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘बैंकको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाब’

काठमाडौं । बैंकहरुको आम्दानीको स्रोत सीमित हुँदा बैंकहरुको मुनाफामा दबाब सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् ।

नेपालको बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको स्रोत सीमित हुँदा पछिल्लो समय मुनाफा घट्दै गएको उनीहरुको दाबी छ । बैंकहरुको ८० प्रतिशत आम्दानी कर्जा लगानीको ब्याजमा नै निर्भर रहेको छ ।

पछिल्लो समय बैंकहरुले निजी क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैनन् । त्यसले पनि आम्दानीमा कमी देखिएको छ । बैंकर्सहरुकाअनुसार बैंकहरुको कर्जा लगानीको ब्याज तथा सावाँ समेत संकलन गर्न मुस्किल देखिएकाले आम्दानीमा मात्रै नभएर सम्पती गुणस्तरमा समेत कमजोर बन्दै गएको देखिन्छ ।

बैंकको सम्पती कर्जाको धितो नै ८० प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको पछिल्लो समय खराब कर्जा समेत उल्लेख्य मात्रामा बढ्दै गएको छ । यसले बैंक तथा वित्तीय संस्था समस्या र चुनौतिपूर्ण अवस्थामा पुर्‍याउन सक्ने अवस्था देखिएको उनीहरुको भनाई छ । बैंक तथा वित्तीय संस्थामा पर्ने असरले समग्र मुलुकको अर्थतन्त्रमा समेत चुनौति देखिने सरोकारवालाहरुको भनाई छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तरबिरोध रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा मुख्य गरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र वाह्य क्षेत्रको सन्तुलनमा चुनौति रहेको बताउनु भयो ।

उहाँले बैंक तथा वित्तीय क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरुको सम्पतीको गुणस्तर घट्दो अवस्थामा रहेको बताउनु भयो । ‘प्रभावकारी नियमन तर सम्पतिको स्तर राम्रो हुन नसक्नु र चाहेको क्षेत्रमा लगानी प्रवाह हुन सकेको छैन । बैंक तथा वित्तिय संस्था र रियल क्षेत्रबीचको सम्बन्ध प्रभावकारी छैन,’ उहाँले भन्नुभयो ।

उहाँले खराब सम्पतिको देखिने आकार मात्रै घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहालि लाग्दो अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुको सम्पतिको गुणस्तर कमजोर देखिइएका अन्तर्राष्ट्रिय निकायहरुले बैंकहरुको मूल्याङ्कन परम्परागत नियमनले मात्रै नभएर ऋणीकै तहमा पुग्न र कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोगका विषयमा छानविन गर्नुपर्ने प्रश्न उठाएको उल्लेख गर्नुभयो । खनालले निजी क्षेत्रको लगानी वृद्धि र फस्टायो भने मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब देखिएको बताउनु भयो । उहाँले अहिले औषतमा बैंकहरुको खराब कर्जा ४.४२ प्रतिशत पुगेको भन्दै अझै थपिने अवस्था देखिएका बताउनु भयो । उहाँले बैंकहरुको ८० प्रतिशत आम्दानी ब्याजमा नै निर्भर रहेको दाबी गर्नुभयो ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुरेन्द्र रेग्मीले बैंकहरुको आरोही घट्दै गएको बताउनु भयो । उहाँले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या र चुनौति समाधान गर्नको लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकहरुको खराब कर्जा बढेर गएको बताउनु भयो ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरुले सम्भावना भएको क्षेत्रमा लगानी गर्दै आएको बताउनु भयो । उहाँले ऊर्जाको क्षेत्रमा बैंकहरुको लगानी उच्च रुपमा भएको बताउनु भयो । उहाँले जलविद्युतमा बैंकको लगानीकै कारण विद्युत उत्पादन गरी निर्यातमा थालनी भएको बताउनु भयो । उहाँले सिमेन्टमा पनि भारत निर्यात गर्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले स्टिल,सिमेन्ट लगायत अन्य उद्योगमा लिएको सफलता बैंकहरुको लगानीको कारण भएको उल्लेख गर्नुभयो ।

उहाँले बैंकहरुले उद्योग व्यवसायीमा ७२ प्रतिशत बढी लगानी गरेको दाबी गर्नुभयो । उहाँले कृषि क्षेत्रमा बैंकको लगानी नभएको आरोप लाग्दै आएको बताउनु भयो । उहाँले कृषि क्षेत्रमा बैंकको लगानी हुनुमा बैंकहरु मात्रै उत्तरदायित्व भित्र नभएको बताउनु भयो । उहाँले कृषिमा राज्यले दिन सक्ने सुविधा दिन नसक्दा कृषकले कर्जा तिर्न नसक्ने देखेर लगानी नगरेको स्पष्ट गरेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement