गाजामा इजरायलको हवाई आक्रमण : २४ घण्टामा कम्तिमा ६८ जनाको मृत्यु

पुस १९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा इजरायलको हवाई आक्रमण : २४ घण्टामा कम्तिमा ६८ जनाको मृत्यु

काठमाडौं । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । मारिनेमा गाजाका प्रहरी प्रमुख महमुद सलाह र उपप्रमुख हुसाम शहवानसमेत रहेको रोयटर्सले जनाएको छ । 

शहवान प्यालेष्टिनी लडाकु समुह हमासका दक्षिणी गाजा सुरक्षा बलका प्रमुख समेत भएको बताइएको छ । अल मवासी जिल्लास्थित एक अस्थायी शिविरमा गरिएको आक्रमणमा उनीहरु मारिएको गाजाको आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ । यता इजरायली सेनाले आफूहरुले गुप्तचरी सूचनामा आधारित कारवाही गरेर शहवानको सफाया गरेको जनाएको छ ।

अल मवासी जिल्लालाई १४ महिना लामो गाजा युद्धमा सर्वसाधारणका लागि मानवीय क्षेत्र घोषणा गरिएको थियो । प्यालेष्टिनी शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय उनर्वाका प्रमुख फिलिप लजारिनीले गाजामा मानवीय क्षेत्रसमेत सुरक्षित क्षेत्रका रुपमा नरहेको भन्दै सामाजिक सञ्जाल एक्समा चिन्ता व्यक्त गर्नुभएको थियो ।

२०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणमा परी गाजामा ४५ हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् । यसअवधिमा इजरायलले हमासका राजनीतिक ब्यूरो प्रमुख इस्माइल हनियेह, हमासका गाजा प्रमुख याह्या सिनवर, हमासको सैन्य विभाग अल कासम ब्रिगेड्सका प्रमुख मोहम्मद डेइफ, अल कासम ब्रिगेड्सकै उपकमाण्डर मर्वान इशा, हमासका संस्थापक मध्येका एक खालेद मेशाललगायत हमासका उच्च नेताको हत्या गरिसकेको छ ।



Enter Kantipur TV HD
Advertisement