काठमाडौं । दक्षिणी क्यालिफोर्नियाको एउटा व्यावसायिक भवनमा एउटा सानो विमान ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।
सो भवन एउटा फर्निचर कारखाना भएको बताइएको छ । घाइतेमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको र आठ जनालाई भने घटनास्थलमै उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ । एकल इन्जिन भएको ‘भ्यान्स आरभी टेन’ विमान बिहान स्थानीय समय अनुसार करिब सवा दुई बजे दुर्घटनामा परेको थियो ।
दुर्घटना कसरी भयो भन्ने बारे संघीय हवाई प्रशासनले थप केही खुलाएको छैन । मृत्यु हुने दुई जना विमानमा सवार व्यक्ति रहेको वा उक्त फर्निचर कारखानामा कार्यरत कामदार रहेको भन्ने विषयमा पनि खुलाइएको छैन । घाइतेमध्ये कम्तीमा १२ जना कारखानाका कामदार रहेको जनाइएको छ ।