१ सय वर्षको उमेरमा अस्ताएका जिम्मी कार्टरको नेपाल साइनो

पुस १५, २०८१ |हरहरि उपाध्याय
१ सय वर्षको उमेरमा अस्ताएका जिम्मी कार्टरको नेपाल साइनो

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिम्मी कार्टरको १ सय वर्षको उमेरमा जर्जियास्थित आफ्नै निवासमा निधन भएको छ । सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपति रहनु भएका कार्टर राष्ट्रपतिका रुपमा भन्दा पनि एक असल पूर्वराष्ट्रपतिका रुपमा बढी चर्चित हुनुहुन्थ्यो । ह्वाइटहाउस छाडेपछि जीवनपर्यन्त लोकतन्त्र र मानवअधिकारको प्रवर्द्धन तथा मानवीय पीडा निर्मुल गर्न काम गर्नुभएका उहाँको नेपालसँग एक विशेष साइनो रहेको थियो ।

सन् १९८१ मा ह्वाइट हाउसबाट बाहिरिएपछि जिम्मी कार्टरले मानवअधिकारप्रति प्रतिबद्ध एक प्रभावशाली व्यक्तिका रुपमा प्रतिष्ठा कमाउनु भएको थियो ।मानवअधिकार प्रवर्धन र मानवीय पीडा निर्मूल गर्ने उद्देश्यका साथ धर्मपत्नी रोजालिनसँग मिलेर उहाँले स्थापना गर्नुभएको कार्टर सेन्टरले नेपालमा शान्तिस्थापनाको पहलका लागि सन् २००४ देखि नै काम गरेको थियो । 

सन् २००८ मा भएको संविधान सभाको पहिलो निर्वाचन र २०१३ मा भएको भएको दोस्रो निर्वाचन दुवैको कार्टर सेन्टरले पर्यवेक्षण गरेको थियो । सन् २०१५ मा नयाँ संविधान जारी भएपछि २०१७ मा भएको पहिलो संघीय र प्रादेशिक निर्वाचनको पनि कार्टर सेन्टरले अनुगमन गरेको थियो ।

सन् २००८ मा भएको पहिलो संविधान सभा निर्वाचनको अनुगमन गरेपछि २०१३ को जुनसम्म कार्टर सेन्टरले नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाको दीर्घकालीन अनुगमन गरेको थियो । यसमा खासगरी कार्टर सेन्टरले तत्कालीन पाँच वटै विकास क्षेत्रमा शान्तिप्रक्रियामा सीमान्तकृत समूहको सहभागिता र स्थानीय स्तरमा उनीहरुको राजनीतिक संलग्नता, सुरक्षा वातावरण र वृहद शान्ति सम्झौताको कार्यान्वयन लगायतको अनुमगन गरेको थियो । 

नेपालको शान्तिप्रक्रियाका क्रममा कम्तिमा ४ पटक नेपाल आउनु भएका कार्टरले सन् २००८ र २०१३ मा भएका दुवै संविधान सभा निर्वाचनको आफैं पनि पर्यवेक्षण गर्नुभएको थियो । समग्रमा भन्नुपर्दा नेपालको शान्तिप्रक्रियामा कार्टरको प्रत्यक्ष संलग्नता थियो भने उहाँ नेपाललाई असाध्यै माया गर्ने नेतामा पर्नुहुन्थ्यो । कार्टर सेन्टरमार्फत् गरेको कामका लागि उहाँलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। कार्टरको जन्म अक्टोबर १, १९२४ मा अमेरिकाको एक किसान परिवारमा भएको थियो।

सन् १९६० मा राजनीतिमा प्रवेश गर्नुभएका उहाँ सन् १९७१ मा पहिलो पटक आफ्नो राज्य जर्जियाको गभर्नर बन्नुभएको थियो । त्यसको ठीक छ वर्षपछि अर्थात् १९७७ मा कार्टर, रिपब्लिकन पार्टीका अध्यक्ष जेराल्ड फोर्डलाई हराउँदै डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो । १९८० को निर्वाचनमा भने उहाँ रिपब्लिकन पार्टीका रोनाल्ड रेगनसँग पराजित हुनुभएको थियो । कार्टरकी श्रीमती रोजालिनको ९६ वर्षको उमेरमा गत वर्षको नोभेम्बरमा निधन भएको थियो । कार्टरका तीन छोरा र एक छोरी हुनुहुन्छ । 

सम्बन्धित समाचारः

अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन

Kantipur Samachar | कान्तिपुर समाचार, १५ पुष २०८१


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement